तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैर आवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबिचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड हटाउन अनुरोध गरिएको छ ।

बेलायती यातायात मन्त्री ग्रान्स साप्सलाई सम्बोधन गरी लेखिएको उक्त पत्रमा भारतलाई रातो सूचीबाट हटाइएको तर कोरोनाको दर क्रमशः घटेको नेपाललाई अझै पनि राखिएकाले यो अव्यवहारिक रहेको उल्लेख गरिएको छ ।

बेलायतमा करिब डेढ लाख नेपाली रहेका र गोर्खाका परिवार तथा अन्य यात्रा गरिरहनेहरूका लागि मापदण्डले झमेला भएको र नेपालबाट बेलायत आउनेले महँगो खर्चमा होटेलमा क्वारेनटिन बस्नुपर्ने व्यवस्थाले थप असहज भएको भनिएको छ ।

अधिकांशले कोभिडविरुद्धको खोप लगाइसकेका र त्यस आधारमा पनि नेपालीलाई यातायातमा सहज गराउन अनुरोध गरिएको छ । अन्य युरोपेली मुलुकले नेपाललाई रातो सूचीबाट हटाइसकेको र अब केवल बेलायत मात्र रहेको हुँदा आफ्नो मागलाई यथोचित रूपमा बुझेर कदम चाल्न बेलायत सरकारलाई भनिएको छ । बिहीबार नै सङ्घले लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पनि पत्र पठाएर दुई देशबिचको यात्रा सहज गर्न पहलकदमी थाल्न अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button