तपाईँ सुन्दै हुनुहुन्छः

नर्सिङ परीक्षाको नतिजा प्रकाशनमा चरम लापरबाही भएको आशङ्का

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको परीक्षा समितिले नर्सिङ स्टाफ परीक्षाको नतिजा प्रकाशनमा ठुलो लापरबाही गरेको पाइएको छ । ५० जनाको सर्ट लिस्टमा नामै नभएकी उम्मेदवारलाई १ नम्बर सफल उम्मेदवारका रुपमा छनौट गरी अन्तिम नतिजाको सूचना जारी गरेपछि परीक्षा समितिको लापरबाही भेटिएको हो  । 

कर्णाली प्रतिष्ठानले गएको साउन ३० गते करार सेवाका लागि २५ जना नर्सिङ स्टाफको माग गर्दै सूचना खोलेको थियो । सोही अनुसार १ सय ६३ जनाले आवेदन दिएका थिए । जसमध्ये भदौ २६ गते लिइएको लिखित परीक्षाबाट सफल उम्मेदवार ५० जनाको नाम सार्वजनिक भयो । 

उक्त ५० जनाको सर्ट लिस्टमा सपना न्यौपाने नाम छैन । तर भदौ २९ गते पुनः प्रकाशित संशोधित सूचनामा भने (एसएन ०३९) सिम्बोल नम्बर सहित सपना न्यौपानेको नाम सर्ट लिस्टमा निकालिएको छ । यसअघि भदौ २६ गते प्रकाशित लिखित तर्फको सफल उम्मेदवारको ५० जना भित्र नपरेकी सपना न्यौपाने भदौ २९ गते प्रकाशित संशोधित सूचना अनुसार सर्ट लिष्टमा परेकी छन् । तर ५० जनाको लिस्टमा नपर्ने पछि संशोधन गरेर किन नाम निकालियो भन्ने आशङ्का भने फैलिएको छ ।  

तर ५० जनाको सर्टलिष्ट भित्र नपरेकी संशोधन सूचनामा नाम निकालेकी सपना न्यौपानेको नाम ३० गते प्रकाशित सफल उम्मेदवारहरूको अन्तिम नतिजाको १ नम्बरमा उल्लेख भएपछि प्रतिष्ठानको परीक्षा समितिको लापरबाही बाहिर आएको हो । 

नतिजा प्रकाशित सूचनामा १ नम्बरमा सफल सपना न्यौपानेलाई SN 057 कोडिङ दिइएको छ । जुन सिम्बोल नम्बर लिखित परीक्षामा सदिक्षा रोकायाको हो । तर संशोधित सूचनामा सपना न्यौपानेको सिम्बल नम्बर SN 039 उल्लेख गरिए पनि अन्तिम नतिजा प्रकाशनमा भने, SN 057 सिम्बोल नम्बर छ । ५० जनाको सर्ट लिष्ट नाम नआउनु, सिम्बोल नम्बर फरक  पर्नु सबै परीक्षा समितिको कमजोरी भएको सपनाको परिवार स्रोतले बताएको छ । 

३ पटक सम्म लिखित परीक्षामा नाम निकालेकी सदिक्षा रोकाया अन्तिम नतिजामा सफल नहुनु आफ्नै सिम्वोल नम्बरमा अर्कै नाम आउनु प्रतिष्ठानको परीक्षा समितिको गल्ती की नियत भन्ने कुरा छानबिन हुन बाँकी रहेको छ । 

तर परीक्षा समितिले गर्ने यस्तो लापरबाहीले मेहनती विद्यार्थी डिप्रेसनमा जान्छन् । सदिक्षा रोकायाका बुबा दलसिंह रोकाया भन्छन्,“सर्टलिष्टमा नाम नभएकी सपना न्यौपाने कसरी १ नम्बरमा सफल भइन् । मेरी छोरी सदिक्षा रोकायाको SN 057 सिम्बोल नम्बर कसरी सपना न्यौपानेको नाममा आयो । परीक्षा समितिको लापरबाहीले सदिक्षा र सपनालाई विवादित बनायो । यसमा कसैको स्वार्थको आशङ्का छ ।”

परीक्षा समितिको लापरबाही होकी, पदाधिकारीको नियत हो यसबारे सत्य तथ्य छानबिनका लागि अदालती प्रक्रियामा जाने तयारीमा रहेको रोकायाले उल्लेख गर्नुभयो । यसअघि २ पटक लिखित परीक्षामा सफल भए पनि सदिक्षा रोकाया मौखिकमा फालिएको थियो । 

कर्णाली प्रतिष्ठानका हरेक परीक्षामा आफ्ना नजिकका मान्छे मात्रै छनौट गर्छन् भन्ने विगतको नजिर कायमै रहेको भन्दै यर्थात बाहिर नआए आन्दोलन गर्ने समेत दलसिंह रोकायाले चेतावनी दिनुभयो । 

परीक्षा समितिको कमजोरी भएको हो

नर्सिङ स्टाफ परीक्षाको नतिजा प्रकाशनमा परीक्षा समितिले नियतवश भन्दा पनि कोडिङलाई डिकोर्डिङ गर्दा भूलवश त्रुटि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताउनुभयो । उहाँले भन्नुभयो,“परीक्षा पारदर्शी हुँदैन भन्ने विगतको नजिर तोड्नका लागि कोडिङ डिकोर्डिङ व्यवस्था गरिएको थियो । तर परीक्षा समितिले चेकजाँच गर्दा डिकोर्डिङमा भूलवश त्रुटि देखिएको हो । यसमा कुनै नियत छैन ।”

परीक्षा देखि नजिता प्रकाशन स्वच्छ र पारदर्शी भएको दाबी गर्दै लिखित परीक्षापछि रिचेकको व्यवस्था भए अनुसार सपना न्यौपानेको पछि रिचेक गरेर उत्कृष्ट नम्बर आएपछि संशोधन सूचना मार्फत सर्ट लिस्टमा नाम निकालिएको रजिस्ट्रार महत जानकारी दिनुभयो । 

भदौ २६ गते प्रकाशित सर्ट लिखित परीक्षाको नतिजामा सफल ५० जना भित्र सपना न्यौपानेको नाम छुटाउनु नै परीक्षा समितिको मुख्य लापरबाही हो । रजिस्ट्रार महतले थप्नुभयो,“४८ घण्टाभित्र निवेदन दिएपछि रिचेक गर्ने व्यवस्था अनुसार सपना रोकायाले निवेदन दिएपछि चेक गर्दा उत्कृष्ट नम्बर आएको तर परीक्षा समितिले अन्तिम नतिजा प्रकाशन गर्नुअघि कोडिङबाट डिकोर्डिङ गर्दा त्रुटि भएर सदिक्षा रोकायाको कोडिङ नम्बर सपना न्यौपानेको नाममा परेको हो ।”

लिखितमा उत्कृष्ट नम्बर ल्याएकी तर परीक्षा समितिले कोडिङबाट डिकोडिङ गर्दा कमजोरी भएकाले ५० जनाको लिस्टमा नाम नआएपछि प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँ सँग समन्वय गरी संशोधित सूचना मार्फत सपना न्यौपानेको नाम निकालिएको र अन्तरवार्तामा सहभागी गराइएको रजिस्ट्रार महतको भनाई छ ।

उहाँका अनुसार सपना न्यौपानेले एक टपर विद्यार्थी हुन् । उहाँले कर्णाली प्रतिष्ठान सँगै बाग्मती प्रदेशमा पनि नाम निकालेर अन्तरवार्ता दिन गएकी छन् । सपना न्यौपानेका उत्तर पुस्तिका समेत देखाउने सकिने प्रतिष्ठानले बताएको छ । 

रजिस्टार महतले कर्णाली प्रतिष्ठानलाई नमुना बनाउन आएको र कानुन विपरीत कुनै काम नगर्ने दाबी गर्नुभयो । यद्यपि परीक्षा फेक भएको शङ्का लागेमा आगामी एक महिना सम्म जोसुकै व्यक्तिले आफ्नो उत्तर पुस्तिका हेर्ने व्यवस्था समेत गरिएको प्रतिष्ठान प्रशासन शाखाले जनाएको छ । 

कर्णाली प्रतिष्ठानको परीक्षामा कोडिङ, डिकोर्डिङ व्यवस्था पहिलो भएकोले परीक्षा समितिले थोरै त्रुटि गर्दा कोडिङ नम्बर तलमाथि मात्र भएको तर परीक्षा एकदम मर्यादित भएको प्रतिष्ठानको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button