तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरले गर्‍यो गत आर्थिक वर्षको बजेटको वार्षिक समीक्षा

पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमहरूको समीक्षा गरेको छ । समीक्षाका क्रममा कोरोना महामारीका कारण पूर्वाधारका कामहरू ठप्प हुँदा कूल बजेटको जम्मा ६६ प्रतिशत मात्र बजेट खर्च भएको महानगरले जनाएको छ । चालु तर्फ ८७ प्रतिशत र  पुँजीगत तर्फ ५०.५ प्रतिशत बजेट खर्च भएको वित्त महाशाखाका निर्देशक जयराम पौडेलले बताउनु भयो  । 

महानगरमा गत आर्थिक वर्षमा सञ्चालित योजना तथा कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै पौडेलले भन्नु भयो ‘ कोरोना महामारीका कारण विकाशका कामहरू ठप्प हुँदा खर्च पनि कम भएको बताए । महानगरको कूल ५ अर्ब ५१ करोड ८२ लाख ५३ हजार रकममध्ये  ३ अर्ब, ६८ करोड, ८१ लाख २५ हजार खर्च भएको बताउनु भयो’ । 

बजेट खर्चको अनुपातमा सबैभन्दा धेरै (९१.३७ प्रतिशत) शिक्षा महाशाखाले खर्च गरेको छ । उक्त महाशाखाले कूल १ अर्ब ३४ करोड ८५ लाख बजेटमध्ये १ अर्ब २३ करोड २१ लाख ८३ हजार रकम खर्च गरेको हो । त्यस्तै सबै भन्दा कम सामाजिक विकाश महाशाखाले (४५.४४ प्रतिशत) खर्च गरेको छ । उक्त महाशाखामा रहेको कूल १० करोड २२ लाख ७१ हजार बजेटमध्ये ४ करोड ६४ लाख ७१ हजार रकम खर्च भएको उनले जानकारी दिनु भयो । 

पूर्वाधार तर्फको बजेट भने ४८. १ प्रतिशत खर्च भएको छ । कूल बजेट २ अर्ब ६८ करोड ७७ लाख ६८ हजारमध्ये  १ अर्ब २९ करोड,  २७ लाख ४५ हजार रकम खर्च भएको पौडेलले जानकारी दिनु भयो । उहाँले पोखरा महानगरको वित्तीय अवस्था सशक्त रहेको दाबी समेत गर्नु भएको छ । “महानगरमा यो आर्थिक वर्षमा कुनै योजनालाई रकम नपुग्ला कि भन्नुपर्ने अवस्था छैन” उहाँले थप्नु भयो ।  

राजश्व सङ्कलनमा भने महानगर केही कमजोर देखिएको छ । गत आर्थिक वर्षमा करिब २६ करोड अनुमान गरिएको सम्पत्ति कर जम्मा ७ करोड मात्र उठेको छ  । साथै विज्ञापन र मनोरञ्जन कर समेत उठाउन नसकिएको उहाँको  भनाई थियो । त्यस्तै ३५ करोड उठ्ने अनुमान गरिएको ढुङ्गा गिटी बालुवा कर २१ करोड ८० लाख सङ्कलन भएको छ । 

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले निर्माण सामाग्रीको अभाव, कामदारको अभाव तथा कोरोना महामारीका कारण योजना अनुरूपका कामहरू गर्न नसकिएको स्विकार्नु भयो । वर्षायाम, चाडबाड लगायतका कारण पनि काम कम हुने परिपाटी रहेको बताउँदै बरालले योजना छनौट, सार्वजनिक खर्च सम्बन्धी व्यवस्था, क्षमता भन्दा बढी काम लिने निर्माण व्यवसायीहरूका कारण पनि महानगरमा सोचेजस्तो काम हुन नसकेको बताउनुभयो । उहाँले समीक्षाको क्रममा प्राप्त सुझावहरूलाई समेटेर आगामी दिनमा थप प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । 

समीक्षा गोष्ठीमा महानगरका वरिष्ठ प्रशासकीय अधिकृत एवं सूचना अधिकारी भरतराज पौडेलले वार्षिक रुपमा गरिने समीक्षाले महानगरको प्रशासनिक अवस्थाबारे जानकारी दिनु भएको थियो  । कोरोना महामारीको विषम अवस्थामा समेत महानगरवासीको सेवामा कुनै कसर बाँकी नराखी काम गरिएको र  महानगरलाई सुशासनयुक्त बनाउन गरिएका प्रयासहरूबारे अवगत गराउनु भएको थियो  । सो अवसरमा सामाजिक विकाश महाशाखा, स्वास्थ्य महाशाखा, शिक्षा महाशाखा, पूर्वाधार महाशाखा, कृषि तथा पशु विकास महाशाखाका प्रमुखहरूले पनि वार्षिक गतिविधिहरू प्रस्तुत गरिएको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button