तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थ मन्त्री

  

फाइल तस्बिर

काठमाडौँ  ।   अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।   

कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भन्नुभयो, “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ ।” उहाँले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।    

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । 

सञ्चय कोषको कूल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म रु चार खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा रु तीन खर्ब ९८ अर्ब ६ करोड मौज्दात छ । निवृत्तिभरण कोषमा रु एक अर्ब ५८ करोड छ भने कोषको दायित्व रु चार अर्ब ६७ करोड छ ।   

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताको लागि रु सात हजार ५०० का दरले दुई पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँदै आएको छ । सञ्चयकर्ताको सेवा कालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा रु दुई लाख प्रदान गर्दै आएको छ । 

सञ्चयकर्ताको सेवा कालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट रु ४० हजार काजकिरिया खर्च, सामान्य औषधोपचारको हकमा रु एक लाख तथा घातक रोगको हकमा रु १० लाखसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको छ ।    
    
कोषमा पाँच लाख ९८ हजार योगदानकर्ता र २९ हजार २०० योगदानकर्ता कार्यालय आबद्ध छन् । 

कोषले सञ्चयकर्ता स्वास्थ्योपचार योजनाअन्तर्गत एक हजार ६३३ सञ्चयकर्तालाई रु १३ करोड ८७ लाख शोधभर्नासहित कूल रु ३२ करोडभन्दा बढी सामाजिक सुरक्षा सुविधा प्रदान गरेको छ । 

विसं २०१९ भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि १९९१ सालमा सैनिक द्रव्य कोष, २००१ मा निजामती प्रोभिडेण्ट फण्ड र २०१७ सालमा सञ्चय कोष विभागको नाममा यसको काम कारबाही सञ्चालन हुँदै आएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button