तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको बाढीले क्षति पुगेका सडक मर्मत सुरु

 

सिन्धुपाल्चोक । असार १ र साउन १६ गतेको बाढीले क्षति पुगेका सडक मर्मत सुरु भएको छ । 

मेलम्ची १२ बाहुनेपाटीको पुल सञ्चालनमा आएसँगै पाँचपोखरी गाउँपालिका मेलम्ची नगर र इन्द्रावती गाउँपालिकालगायत विभिन्न स्थानमा जानका लागि सहजता भएको छ ।

साउन १६ गते आएको बाढीले क्षति पुर्‍याएको बाहुनेपाटी पुल आजबाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिनुभयो । 

त्यस्तै, मेलम्ची पारी झोलुङ्गे पुलबाट पाँचपोखरीको माथिल्लो भेग भोताङ, मानेखर्क, गुन्सा, धाप, तिपेनीलगायत स्थानमा यातायात सञ्चालनमा आएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । 

नेपालीहरूको महान् पर्व दर्शै नजिकिएसँगै व्यापारी केन्द्र र बजार क्षेत्रमा चहलपहल बढेको छ । 

त्यस्तै हेलम्बु गाउँपालिकामा पनि अवरुद्ध सडक सञ्चालनमा आएको छ । 

आजबाट हेलम्बुको इचोक, ग्रेटटे«ल, तार्तुङ, कुटुङसाङ लगायतको ठाउँमा यातायातका साधन चलाउन सकिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

“मेलम्ची नगरपालिकाको न्वारखोलामा पहिरोले अवरुद्ध सडक खुलाएदेखि हेलम्बुका विभिन्न ठाउँमा यातायातका साधन सञ्चालन गर्न सकिने, रातो पुल भएको स्थानमा पनि पुल निमार्णको लागि बजेट छुट्टाइसकेकाले अब छिट्टै मेलम्ची तिम्बुपनि गाडीमा सरर जान पाइन्छ त्यसको लागि गृहकार्य सुरु गरेका छौँ”,  अध्यक्ष शेर्पाले भन्नुभयो  । 

त्यस्तै पाँचपोखरीको लागि पनि मेलम्ची नगरपालिका क्षेत्रभित्र पर्ने सल्ले खोला नजिकै बाढीले कटान गरेको सडक निमार्ण गरेमा काठमाडौँबाट सिधै भोताङ जान सकिने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सल्लाहकार विजय पौडेलले बताउनुभयो । 

यता मेलम्ची नगरपालिकाले भने अवरुद्ध सडक सञ्चालनका लागि निरन्तर काम भइरहेको जनाएको छ । 

आजबाट बाहुनेपाटी पुल सञ्चालनमा आएको जनाउँदै अवरुद्ध सल्ले खोला छेउ र न्वारखोला छेउको बाटो खुलाउन पनि काम सुरु भएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले जानकारी दिनुभयो । 

“अवरुद्ध सडक खुलाउन हामीले काम गरिरहेका छौँ, कतिपय ठाउँमा काम सुरु भइसकेको छ कतिपय ठाउँमा प्राविधिक अध्ययन भइरहेको छ । अब केही दिनमै अवरुद्ध सबै ठाउँको सडक सञ्चालनमा आउँछ , ” प्रशासकीय अधिकृत धितालले भन्नुभयो । 

गत असार १ गते र त्यसपछि आएको बाढीका कारण सडक सञ्जालमा क्षति पुग्दा मानिसहरूलाई आवतजावतमा समस्या हुँदै आएको छ । 

चाडपर्व नजिकिएसँगै मोटरबाटो निमार्णको कामले तीव्रता पाउँदा र अवरुद्ध सडक सञ्चालनका लागि काम भइरहेको भन्ने खबरले स्थानीयहरू खुसी हुन थालेका छन् । 

त्यस्तै, हेलम्बु गाउँपालिकाको चनौटेमा बेलिव्रिज जडानका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । 

गत असार १ गते मेलम्ची नदीमा आएको बाढीले रातो पुल बगाएको ठाउँमा बेलिबृज बन्ने भएको हो ।

गृह मन्त्रालयलाई पत्र लेख्दै अर्थ मन्त्रालयले अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमा भित्र रही सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्ने र बजेट अपुग भएमा थप बजेट व्यवस्थापनको लागि लेखि पठाउन भनेको छ । अर्थ मन्त्रालयले गृह मन्त्रालय अन्तर्गतको विपद् अध्ययन, जोखिम तथा पुनर्लाभ शाखालाई पत्र लेखेको हो ।

बाढीले रातो पुल बगाएपछि त्यहाँका नागरिकहरू निकै कष्टकर जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button