तपाईँ सुन्दै हुनुहुन्छः

‘मनाङमा बाटो छैन, स्याउ बजारमा कसरी पुर्‍याउने ?’

मनाङ ।  यस वर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । 

विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्‍याउन सुरु गरिन्थ्यो । नासो गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यस वर्ष स्याउ टिप्न र बजारसम्म पुर्‍याउन ढिलो भएको बताउनुभयो ।     

उहाँले भन्नुभयो “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटोरो हुन्थ्यो । यस वर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।”     

उहाँका अनुसार एक सय रोपनीका फार्ममा लगाइएको स्याउ मध्ये ३० रोपनी पहिराले बगाउँदा रु ४० लाख क्षति भएको छ । उहाँ जस्तै जिल्लाका आफ्नै बारीमा व्यावसायिक स्याउ खेती गर्दै आएका किसान सडक नहुँदा मर्कामा परेका छन् । 

यस पटकको बाढी पहिरोले स्याउ खेती गर्ने किसान बढी समस्यामा परेका जनाइएको छ । बजारमा स्याउ पुर्‍याउन मुस्किल भएको नासो–८ ताचैका किसान सोलबहादुर गुरुङ बताउनुभयो     

उहाँले भन्नुभयो “दशैंँ अगाडिसम्म सडक सुचारु भएमा स्याउ पुर्‍याउन सकिन्छ कि भन्ने आशा जागेको छ । ”     

एग्रो मनाङका प्रमुख सोमराज गुरुङले यतिखेर स्याउ बजारमा पुर्‍याउनुपर्ने भए पनि सडकका कारण पुर्‍याउन नसकिएको बताउनुभयो । “गत वर्ष यो सिजनमा प्याकिङ गरिन्थ्यो । यस वर्ष पनि दसैँसम्म सडक निर्माण हुने खबर पाएका छौँ । सोही अनुसार प्याकिङको काम थालेका छौँ । सडक बनेपछि बजारमा पुर्‍याउने तयारीमा छौ ।” उहाँले भन्नुभयो ।     

सडक मर्मत जारी     
यसैबीच डुम्रे–बेशीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले सदरमुकाम चामेसम्म असोजसम्ममा सडक सञ्चालन गराउने तयारीमा रहेको जानकारी दिनुभयो । मर्मत तथा सम्भार र निर्माण जारी रहेको उहाँले बताउनुभयो ।     

“सडक मर्मत तथा सम्भार भइरहेको छ । वर्षा भइरहेकाले समस्या भने आइरहेको छ । एक ठाउँमा बनायो अर्को स्थानमा भत्किन्छ । यो समस्याले सडक निर्माणमा अलि ढिलाइ चाही भएकै हो ।”, उहाँले भन्नुभयो ।     

उहाँका अनुसार अगामी दशैँं अगावै जिल्ला सदरमुकामसम्म सवारी सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भीरमा ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उहाँले बताउनुभयो । 

सो सडक खण्ड एक सय सात किलोमिटरमध्ये लमजुङको बेशीसहरदेखि नासो गाउँपालिका–१ खोत्रो सम्मको ३५ किमी सडक निर्माण भइसकेको छ ।     

त्यस्तै चामे गाउँपालिकामा स्थानीयवासीको सहयोगमा पालिकाम पूरै सवारी आवतजावत भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार अब उक्त सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ । 

माथिल्लो र तल्लो मनाङलाई जोड्नका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।

उक्त सडक निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत तथा सामग्री ढुवानीमा सहज हुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button