तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँबाट ४ हजार बढी विद्यार्थीले १२ को परीक्षा दिँदै

दुलेगौँडा । कोरोना महामारीको कारण पटक पटक रोकिएको कक्षा १२ को परीक्षा बुधवारदेखि सुरु भएको छ । विद्यार्थीले बुधवार भौतिक रुपमा नै उपस्थित भएर परीक्षा दिन पाएका छन् । विद्यार्थीले आफ्नै विद्यालयमा रहेको परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् ।

तनहुँमा विद्यार्थी उत्साहजनक रुपमा सहभागी भई परीक्षा दिएको पाइएको छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै परीक्षामा सहभागी गराइएको विद्यालयले जानकारी दिएका छन् । एउटा कक्षामा २० जना विद्यार्थी मात्र राखेर स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न लगाइएको दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयका सूचना अधिकारी समेत रहेका शिक्षक लक्ष्मण पुरीले बताउनुभयो ।

विद्यालयबाट समूहका चार सय बढी विद्यार्थीले परीक्षा दिएको उनले बताउनुभयो । ‘पटक पटक परीक्षा तयारी गर्नु परेको विद्यार्थीलाई परीक्षा हुन्छ हुँदैन भन्ने अन्यौलता हटेको छ’, पुरीले भने ‘विद्यार्थीहरूले राहतको महसुस गरेको पाएका छौँ ।’ 

खैरेनीटारस्थित खैरेनी माविमा पनि भौतिक दुरी कायम गरेर परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ । एउटा बेन्चमा एक जना विद्यार्थी मात्र राखेर परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र बगालेले बताउनुभयो । उहाँले परीक्षामा ८३ जना विद्यार्थीले शान्तिपूर्ण रुपमा पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न गरेको जनाउनुभयो   ।

जिल्लामा ७१ विद्यालयका ४ हजार १ सय १७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले पहिलो र दोस्रो दिनको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको बताउनुभयो । रेग्मीले जिल्लाका केही विद्यालयमा अनुगमनका क्रममा विद्यार्थीको सहभागिता उत्साहजनक पाएको जानकारी दिनुभयो । पहिलो दिन प्रश्न पत्र प्राप्तिमा केही ढिलाइ भएको बताउँदै अबको परीक्षा समयमै सञ्चालन गर्ने वातावरण बन्ने उनको दाबी छ ।

कोरोना सङ्क्रमणको दर घट्दै गए पनि जोखिम रहेको भन्दै सरकारले परीक्षार्थीलाई परीक्षा अगावै कोरोना विरुद्धको खोपको व्यवस्था गरेका थियो । जिल्लामा १८ बर्ष उमेर पुगेको चार हजार चार सय २५ जना विद्यार्थीले कोरोना विरुद्ध खोपको पहिला मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्ला बाहिर समेत अध्ययन गर्ने विद्यार्थीले खोप लगाएका कारणका जिल्लाका जम्मा परीक्षार्थी भन्दा खोप प्राप्त गर्नेको सङ्ख्या बढी भएको कार्यालयका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

बुँदावरदेखि सुरु भएको परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button