तपाईँ सुन्दै हुनुहुन्छः

पिएसजी रोकियो, सिटी, लिभरपुल, रियल म्याड्रिड र डर्टमण्डको विजयी सुरुवात

काठमाडौं।युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पे तिनै अट्याकरलाई प्लेइङ सेटमा उतारेपनि पिएसजीले गोलको खडेरी तोड्न सकेन ।

यद्यपि खेलमा अग्रता भ्रमणटोली पिएसजीलेनै बनायो । एम्बाप्पेले उपलब्ध गराएको बललाई आन्द्रे हेरेराले गोल गरे । हेरेराले खेलको १५औँ मिनेटमा गोल गरेका थिए ।

घरेलु टोली ब्रगका हान्स भनाकनले खेलको २७औँ मिनेटमा गोल गर्दै बराबरीमा पुर्‍याएका थिए ।

मेस्सी, नेयमार र एम्बाप्पेको साथ पाएको पिएसजीले बाँकी समय खेलमा दबाब बनाए पनि पहिलो खेलमै अंक बाँड्न बाध्य भयो ।

समूह ‘ए’अन्तर्गतको अर्को खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

इतिहाद मैदानमा गोल बर्षा हुँदा सिटीले विजयी सुरुवात गर्याे । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा ९ गोल भएका थिए ।

सिटीको विजयी सुरुवातमा नाथन एके, रियाद महरेज, ज्याक ग्रयलिस, जोआओ कनसेलो र गाब्रियल जेसुसले १/१ गोल गरे भने लापजिगका नर्दी मुकियलेले १ आत्माघाति गोल गरे ।

त्यस्तै, भ्रमणकारी टोली लाइपजिगका क्रिष्टोफर नकुन्कुले ४२, ५१, ६३औँ मिनेटमा ह्याट्रिक पूरा गरे पनि टोलीको हार टार्न सकेनन् । यसअघि लाइपजिगका एन्जेलिनोले ७९औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

खेलसँगै समूह ‘ए’मा ३ अंकसहित सिटी शीर्ष स्थानमा छ । बराबर खेलेका क्लब ब्रग र पिएसजीको सामान १ अंक रहँदा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पराजित आरबी लाइपजिग भने पुछारमा रहेको छ ।

यस्तै समूह ‘बी’अन्तर्गतको खेलमा लिभरपुलले एसि मिलानलाई रोमाञ्चक खेलमा ३-२ गोल अन्तरले पराजित गरेको छ । लिभरपुर घरेलु मैदान एनफिल्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सलाह, जोर्डन हेन्डरसन १-१ गोल गर्दा मिलानका फिकायो तोमोरीले आत्माघाती गोल गरेका थिए ।

भ्रमणकारी टोली एसि मिलानको लागि एन्टे रोबिक र ब्राहिम डियाजले १/१ गोल गरे । खेलमा मिलानका जाल्टान इभ्राहिमोभिक उपलब्ध थिएनन् ।

यसअघि १४औँ मिनेटमा लिभपुरका सलाहको पेनाल्टी प्रहार मिलान गोलकिपर माइक माइग्नानले बचाउ गरेका थिए ।

समूह ‘बी’अन्तर्गतकै अर्काे खेलमा एथ्लेटिको म्याड्रिड र एफसी पोर्टाेबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको छ । म्याड्रिडमा भएको खेलमा एफसी पोर्टो अन्तिम समयमा १० खेलाडीमा सिमित भएको थियो ।

खेलसँगै समूह ‘बी’बाट लिभरपुल तीन अंकसहित शीर्ष स्थानमा छ । यस्तै बराबरी खेलेका एथ्लेटिको र पोर्टाे क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा एसि मिलान अन्तिम स्थानमा छ ।

यस्तै, समूह ‘सी’को खेलमा स्पेनिस रियल म्याड्रिडले इटाली क्लब इन्टर मिलानविरुद्ध १/० को कठिन जित हासिल गरेको छ । भ्रमणकारी टोली रियलले रोड्रिगोको निर्णायक गोलमा ८९औँ मिनेटमा १/० को अग्रता बनाएको थियो । घरेलु मैदान सान सिरोमा इन्टर फर्कने धेरै मौका बनाए पनि सफल हुन सकेन ।

समूह ‘सी’कै अर्काे खेलमा माल्दोभा च्याम्पियन एफसी सेरिफ तिरास्पोलले विजयी सुरुवात गरेको छ । क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग खेलेको सेरिफले युक्रेन च्याम्पियन सख्तर डोनेटस्कलाई २/० गोल अन्तरले पराजित गर्‍याे । घरेलु मैदान सेरिफ मैदानमा एडामा ट्राओरे र मोमो यान्सुनले १/१ गोल गरेका थिए ।

जितसँगै समूह ‘सी’बाट सेरिफ र रियल म्याड्रिड क्रमशः ३/३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । पराजित इन्टर र सख्तर भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

यस्तै, समूह ‘सी’अन्तर्गतको खेलमा अजाक्सले विजयी सुरुवात गरेको छ । गयराति भएको खेलमा भ्रमणटोली अजाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५/१ गोल अन्तरले पराजित गर्‍याे । नेदरल्याण्डको अजाक्सलाई जिताउन सेबाष्टियन हलरले ह्याट्रिक पूरा गरे । सेबाष्टियनले खेलको २, ९, ५१ र ६३औँ मिनेटमा गरी ४ गोल गरे । यस्तै स्टेफन बर्घुइसले १ गाेल गरे । स्पोर्टिङका लागि पौलिन्होले खेलको ३३औँ मिनेटमा १ सान्त्वना गोल गरे ।

समूह ‘सी’कै अर्काे खेलमा बोरुसिया डर्टमण्डले विजयी सुरुवात गरेको छ । भ्रमणकारी डर्टमण्डले घरेलु टोली बेसिक्तास जेकेलाई २/१ गोल अन्तरले पराजित गरेको हो । डर्टमण्डको जितमा जुड बेल्लिंघाम र एर्लिङ ब्राउट हालाण्डले १/१ गोल गरे । यस्तै बेसिक्तासको लागि फ्रान्सिस्को मोन्टेरोले १ सान्त्वना गोल फर्काए ।

समूह ‘सी’बाट अजाक्स र डर्टमण्डको समान ३ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । बेसिक्तास र स्पोर्टिङ भने बिना अंक क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button