२०७८ साल असोज २ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ५० किमी ग्राभेल, ३ किमी पिच र ३५ किमी सडक चौडा

सागर परियार २०७८ भदौ ३० गते १६:३९

जुम्ला । कोरोना कहरका बीच पनि गत आवमा सडक डिभिजन कार्यालय जुम्लाको भौतिक प्रगति ७० प्रतिशत भएको छ । गत आर्थिक वर्षमा सडक डिभिजनले जुम्लाले मुगु, कालिकोट र जुम्लामा गरी ७० प्रतिशत भौतिक प्रगति गरेको हो । जसमा जुम्लामा मात्रै ३५ किलोमिटर सडक ग्राभेल गरिएको छ । नाग्म गमगडी सडक विभिन्न खण्डमा ग्राभेल गरिएको हो । 

त्यस्तै १८ किलोमिटर कालोपत्रे गरिएको छ । १८ किमी कालोपत्रे मध्य ३ किमी जुम्ला क्षेत्रमा बाँकी १५ किमी सडक कालोपत्रे कालिकोट जिल्लामा भएको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार गत आ.व.मा करिब ३५ दशमलव २५ किमी सडक चौडा बनाइएको छ । सडक चौडाको काम जुम्लामा मात्रै भएको छ । जुम्ला, कालिकोट र मुगुमा गत आ.व.मा ३ किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । साथै २ दशमलव २ किमी सडक सर्फेस डे«सिङ गरिएको छ । 

गत आ.व. २०७७/७८ मा सडक डिभिजन जुम्लामा थप बजेट सहित विनियोजित कुल १ अर्ब १९ करोड मध्य कोरोना कहरका बीच ७७ करोड खर्च भएको छ । अर्थात् वित्तीय प्रगति ६४ दशमलव ८८ प्रतिशत भएको हो । 

सडक डिभिजन जुम्लाले गत आ.व.मा गरेको पूर्वाधार विकासका कामहरू मध्य अधिकांश काम जुम्लामा गरेको छ । नाग्मगमडी सडक ग्राभेल, कर्णाली राजमार्ग जुम्ला खण्ड कालोपत्रे,नयाँ ट्याक खोल्ने लगायतका काम जुम्लामा भएका छन् । 

४२ करोड खर्च भएन

गत आ.व. २०७७/७८ मा सडक डिभिजन कार्यालय जुम्लामा थप बजेट सहित कुल १ अर्ब १८ करोड विनियोजन भएकोमा ७७ करोड मात्रै खर्च भएको छ । भने ४२ करोड बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । गत आ.व.मा सडक निर्माण, नयाँ सडक निर्माण, सडक स्तरबृद्धि, सडक कालोपत्रे लगायतका काम गरी भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव ८८ प्रतिशत भएको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिनुभयो । 

जुम्लामा सडक पूर्वाधार विकासको बजेट खर्च हुन नसक्नुका मुख्य तीन कारण छन् । उहाँले भन्नुभयो,“बजेट खर्च नहुने पहिलो कारण कोभिड, दोस्रो निर्माण व्यवसायी काम प्रति जिम्मेवार नहुनु र बजेट निकासा वर्षको अन्त्यमा हुने यी तीन कारणले बजेट खर्च लक्ष्य अनुसार हुन सक्दैन ।”

जुम्लाका निर्माण व्यवसायीहरूले समयमै काम शुरु नगर्ने, काम प्रति जिम्मेवार नहुने कारणले बजेट खर्च हरेक वर्ष न्यून हुनेको छ । जुम्लाका निर्माण व्यवसायीहरू जुम्लाकै विकास प्रति गम्भीर र चिन्तित नहुँदा जुम्लाको पूर्वाधार विकास कछुवागतीमा छ । 

गत आ.व.मा ठेक्का आह्वान ढिला, निर्माण व्यवसायीको ढिलासुस्ती र कोरोना कहरले लक्ष्यअनुसार बजेट खर्च तथा विकास निर्माण नभएकोले चालु आ.व.मा भदौ मसान्तबाटै सबै काम शुरु हुने गरी अगाडी बढेको सडक डिभिजन जुम्लाका प्रमुख लीला बहादुर भण्डारीको भनाई छ । 

सम्बन्धित