तपाईँ सुन्दै हुनुहुन्छः

चौरपाटीमा १ सय २९ जनालाई अपाङ्गता परिचयपत्र वितरण

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण र उद्योग तथा व्यापार व्यवसाय दर्ता शिविर सम्पन्न गरेको छ । दर्ता शिविरबाट १२९ जनालाई अपाङ्गता परिचयपत्र तथा ६९ जनाले व्यवसाय फर्म दर्ता गरेका छन् ।   

गाउँपालिकाको आयोजनामा भाद्र १४ गते देखि २९ गते सम्म घुम्ती शिविरको आयोजना गरिएको थियो । शिविरमा गम्भीर अपाङ्गता भएका ३२ जनालाई रातो, ६६ जनालाई निलो, २३ जनालाई पहेँलो र ८ जनालाई सेतो परिचयपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष हर्क साउँदले बताउनुभयो ।   

चौरमाण्डौ प्राथमिक केन्द्रका डाक्टर सरोज केसी सहितको टोलीले अपाङ्गता परिचयपत्र नियमावलीको मापदण्ड अनुसार परिचयपत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल साउदले जानकारी दिनुभयो । यस अघि अपाङ्गता परिचयपत्र महिला तथा बालबालिका कार्यालय अछामले वितरण गर्दै आएकोमा सङ्घीयता पछि स्थानीय तहलाई जिम्मा दिएको छ ।   

यस्तै शिविरमा सात वटै वडामा २८ जनाले कृषि तथा पशुपक्षी फर्म, २७ जनाले खुद्रा तथा किराना पसल र ८ जनाले उद्योग व्यवसाय दर्ता गरिएको छ । यस्तै शिविरमा ४ जना व्यवसायीले होटेल तथा २ जनाले मासु पसल दर्ता गरिएको गाउँपालिका आर्थिक विकास उद्योग तथा योजना शाखा प्रमुख नर बहादुर खडकाले जानकारी दिनुभयो ।   

व्यवसायीलाई करको दायरा, स्थानीय व्यापार प्रवर्द्धन तथा गाउँपालिका अन्तर्गत व्यवसायीको तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको अधिकृत खडकाले जानकारी दिनुभयो ।   उद्योग तथा व्यापार व्यवसाय दर्ता कार्य निरन्तर रुपमा गाउँपालिकामा दर्ता गरिने गाउँपालिकाले जनाएको छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्दा अनिवार्य गाउँपालिकामा व्यवसाय दर्ता गरी सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button