तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा बाढी पहिरोका कारण ३३ जनाको मृत्यु, एक करोड बढी राहत वितरण

पोखरा । गण्डकी प्रदेशमा असार यता प्राकृतिक प्रकोपका कारण ३३ जनाको ज्यान गएको छ । प्राकृतिक प्रकोपहरू बाढी, पहिरोलगायतका कारण असार यता गण्डकी प्रदेशमा ३३ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश सरकारले जनाएको छ । 

सोही अवधिमा बाढी पहिरोका कारण घर भत्किदा ४४ जना घाइते छन्  भने २ जना अझै बेपत्ता रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्गलवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै जानकारी गराउनु भएको थियो । अहिले सम्म प्रदेश सरकारले बाढी पीडितलाई रु १ करोड २१ लाख ४६ हजार ९ सय ७३ बराबरको राहत उपलब्ध गराइएको बताउनुभएको छ । 

मुख्यमन्त्री पोखरेलले असार यता मात्र बाढी पहिरोले ५०२ वटा घर बगाएर पूर्ण क्षति भएको बताउनुभयो  । उहाँका  अनुसार बाढी, पहिरोले ५ वटा सरकारी कार्यालय, ७ वटा विद्यालय, ६ वटा सामुदायिक भवन र २५ वटा हाइड्रो पावरमा क्षति पुर्‍याएको छ । यही अवधिमा १७६ वटा सडकमा क्षति पुर्‍याएको छ भने ३६ वटा सडक पुल बगाएको छ । सडकमा पुगेको क्षति र पुल भत्किदा सो सडक खण्डमा यातायात अवरुद्ध भएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनु भयो । 

मुख्यमन्त्री पोखरेलले  असार यता बाढी पहिरोका कारण बिपदमा परेका ७ सय ३१ घर परिवारका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनका अनुसार प्रदेश सरकारले बिपदमा परेका १ हजार २ सय ५ घरधुरीका ४ हजार ७ सय ६२ जनालाई ७९ लाख ६१ हजार ८ सय ९३ रुपैयाँ बराबरको जिन्सी सामान तथा ४१ लाख ८५ हजार नगदसहित कुल १ करोड २१ लाख ४६ हजार ९ सय २१ रुपैयाँ राहत स्वरूप प्रदान गरेको छ ।

मुख्यमन्त्री पोखरेलले बिपद व्यवस्थापन गर्नु सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको जिम्मेवारी भएकाले बिपदबाट निधन भएका परिवारलाई सङ्घीय सरकारले २/२ लाख र प्रदेश सरकारले ५०/५० हजार प्रदान गरेको बताए । त्यस्तै बेपत्ता परिवारलाई प्रदेशले १५ हजारका दरले राहत उपलब्ध गराएको बताउँदै उहाँले  घरबार विहीन भएको परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रदेशले २५ हजारका दरले राहत प्रदान गरेको उल्लेख गर्नु भयो  । 

उहाँका अनुसार प्राकृतिक विपत्तिमा परि घाइते भएकालाई प्रति व्यक्ति ५० हजारका दरले उपचार खर्च प्रदेश सरकारले दिएको छ । साथै बाढी पहिरोका कारण घरमा पूर्ण क्षति भएका घर परिवारलाई १/१ लाख प्रदान गरिएको मुख्यमन्त्री पोखरेलले जानकारी दिनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button