तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट बीरगंज आइपुग्यो पहिलो पटक निजी क्षेत्रको कार्गो रेल

बीरगंज । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आज बीरगंज आइपुगेको छ । 

हिन्द टर्मिनल प्रणालीको एक र्‍याकको कार्गो रेल आज बिहान १०ः०० बजे वीरगन्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । 

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल आज बिहान वीरगन्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो ।

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिँदै आएको थियो । 

रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देश बीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो । 

निजी क्षेत्रको रेलले सेवा दिन पाउने गरी भएको सम्झौताको दुई महिना ६ दिनमा पहिलो निजी रेल बीरगंज आइपुगेको बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताउनुभयो । 

नेपालमा भारतीय सरकारी स्वामित्वमा रहेका रेलले मात्रै कार्गोको ढुवानी सेवा उपलब्ध गराउँदै आएकोमा अब निजी क्षेत्रको रेल सेवाको प्रवेशसँगै रेलमार्फत हुँदै आएको कार्गो ढुवानी सहज हुनुको साथै भाडा दरमा समेत नेपाली व्यवसायीलाई सहलीयत हुने विश्वास आफूहरूले लिएको उद्योग प्रतिष्ठान केडिया अर्गजनाइजेशनका सञ्चालक प्रदीप केडियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button