तपाईँ सुन्दै हुनुहुन्छः

हाप्किडो गण्डकी प्रदेश अध्यक्षमा घर्तिमगर

पोखरा ।  नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ गण्डकी प्रदेश समितिको प्रथम  अधिवेशनले अध्यक्षमा मान बहादुर घर्तिमगर ‘एमबी आस्था’लाई सर्वसम्मत रुपमा चयन गरेको छ । 

समितिको उपाध्यक्षमा तारामाया थापा मगर र खेमबहादुर गुरुङ, सचिवमा प्रेम बुढामगर, सह सचिवमा अर्जुन गाहामगर, र कोषाध्यक्षमा मदन कुमार जिसी सर्वसम्मत चयन हुनुभएको छ  । 

प्रदेश सदस्यहरूमा कृष्ण प्रसाद कोइराला, बिना कुमारी पुन, चन्द्र कुमारी पराजुली, सवी शेरचन, श्याम बहादुर श्रेष्ठ, नरेन्द्र कुमार कार्की किमी छ्योल्टेन गुरुङ, गिता राना र रामु दराई निर्वाचित  हुनुभएको छ । 

समितिको पहिलो बैठकले चार जना सल्लाहकार समेत चयन गरेको छ । 

समितिको सल्लाहकारमा इन्द्र धारा विष्ट, कृष्ण कुमारी श्रेष्ठ, श्रीमान् गुरुङ र डा.कृष्णप्रसाद पौडेल रहेका छन् । 
यसै गरी संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता मनोज घर्तिमगरलाई चयन गरेको छ ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि, व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बुढामगरले खेलाडी र युवाहरूलाई स्वरोजगार बनाउनका लागि एकीकृत योजना बनाएर अगाडि बढ्ने बताउनुभयो  । 

हाप्किडो खेलले विश्वसामु देशको गौरव बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै रसियामा हुने विश्व हाप्किडो प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा प्रशिक्षण लिइरहेका खेलाडीहरूलाई पदक जितेर राष्ट्रको प्रतिष्ठा बढाउन आग्रह समेत गर्नुभयो । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हाप्किडो खेललाई सहभागी गराउन आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

त्यसैगरी गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद क्षेत्रमा बजेट कम भएकै कारण खेलको विकास हुन नसकेको बताउँदै हाल १ प्रतिशतमा कायम रहेको खेलकुदको बजेटलाई ५ प्रतिशत पुर्‍याउन सके यसले खेलकुदमार्फत समाज विकासमा महत्त्वपूर्ण हुने बताउनुभयो । 

उहाँले खेलकुदको मूल्य मान्यता बारे समाजमा अझै सचेतनाको खाँचो रहेको कुरा औँल्याउँदै संयुक्त राष्ट्र सङ्घले खेलकुदमार्फत परिवर्तन सम्भव छ भन्ने सङ्कल्पको दायित्व सबैले बोध गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा  नेपाल मार्सल आर्ट्स हाप्किडोका अध्यक्ष काली बहादुर घर्ती मगरले छोटो समयमा यो खेलले नेपालसँगै विश्वमा चर्चा बटुल्न सफल भएको बताउँदै खेलकुदमार्फत युवाहरूलाई सकारात्मक सोच, शैक्षिक जागरण, अनुशासन, खेल प्रति समर्पित, योग्य, सक्षम, सबल र सफल युवा खेलाडी बनाउन अघि बढेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button