तपाईँ सुन्दै हुनुहुन्छः

चाडबाडको मुखमा किन खुल्दैछन् विद्यालय ?

काठमाडौँ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रतिनिधिको  संयुक्त बैठकले असोज १ गतेदेखि विद्यालयहरू खोल्ने निर्णय गरेपछि अभिभावक र बालबालिकामा थप अन्यौलता छाएको छ ।  दशैतिहार लगायतका चाडपर्वहरू नजिकिएर बिदा दिनुपर्ने बेला आएको र बालबालिकामा कोरोना संक्रमण हुने डर कायम रहेकै बेला गरिएको विद्यालय खोल्ने निर्णयको सबैतिरबाट बिरोध भइरहेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएपछि पुनः बन्द भएका विद्यालयहरू असोज १ गतेबाट खुल्ने भएका छन् । उपत्यकामा सक्रिय संक्रमित सङ्ख्या दर १३ प्रतिशतको हाराहारीमा रहेका बेला गरिएको विद्यालय खोल्ने निर्णयको अभिभावकहरूले खुलेरै विरोध गरिरहेका छन् । 

स्वास्थ्य मन्त्रालयले बालबालिकाहरूमा सङ्क्रमणको जोखिम कायमै रहेको बताएको छ भने डव्लुएचओले जारी गरेको स्वास्थ्य मापदण्डमा  पनि ५ प्रतिशतभन्दा कम सक्रिय संक्रमित भएको अवस्थामा मात्रै विद्यालय तथा सार्वजनिक स्थलहरू खोल्न सकिने उल्लेख गरिएको छ । 

दशैतिहार लगायतका प्रमुख पर्वहरू नजिकिँदै गरेका बेला विद्यालय खुले पनि आफ्ना नानीबाबुलाई विद्यालय नपठाउने मनस्थितिमा अभिभावकहरू पुगेका छन् । वैकल्पिक माध्यमबाट पठनपाठन गर्दै आएका अभिभावकले विद्यालयले मागे जति शुल्क तिर्दै आएका छन् । तर दशैको मुखमा विद्यालय खोल्न गरिएको हतारो केका लागि हो ? भन्ने प्रश्न उठेको छ । नेपाल अभिभावक  महासङ्घका अध्यक्ष धर्मदत्त देवकोटा बालबालिकाको स्वास्थ्य पहिलो प्राथमिकता भएकाले अभिभावकहरूलाई छोराछोरी विद्यालय पठाउनैपर्छ भन्ने दबाब दिन नहुने बताउनुहुन्छ । 

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले सरकारले निर्णय गर्नु अगावै विद्यालय खोलेपछि अरू विद्यालय सञ्चालकहरू दबाबमा पर्दै आएका छन् । ९१ सामुदायिक र ६ सय ४० निजी विद्यालय रहेको काठमाडौँ महानगरपालिकाले भने अहिलेसम्म कसरी विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय गरिसकेको छैन । महानगरपालिकाले विद्यालय कसरी र कहिलेबाट खुलाउने भन्नेबारे विद्यालय सञ्चालक, शिक्षक र अभिभावको राय बुझिरहेको जनाएको छ । महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी थप्नुहुन्छ  धेरैले दशैतिहार र छठपछि विद्यालय खोल्न सुझाव दिएका भए पनि कतिपय शिक्षक तथा विद्यालय सञ्चालकहरूले विद्यालय चाँडै खुले हुने भनेर सुझाव दिएका छन् ।’  

दशै अघि नै विद्यालय खोलेर शुल्क उठाउन दबाब दिइरहेको आरोप खेपेका निजी विद्यालय सञ्चालकहरूले भने बाहिर आएको कुरा सत्य नभएको बताएका छन् । निजी विद्यालय सञ्चालकहरूको एउटा  सङ्गठन  प्याप्सनले बजारमा हल्ला भएजस्तो आफूहरूले विद्यालय खोल्न दबाब नदिएको बताएको छ ।  प्याव्सनका महासचिव कुमार घिमिरे अभिभावकलाई जबरजस्ती बालबालिकालाई विद्यालय पठाऊ भनेर दबाब दिन नहुने स्पष्ट पार्नुहुन्छ । 

कोरोना सङ्क्रमणको दर बिस्तारै घट्दै गए पनि धेरै भिँडभाँड हुने काठमाडौँजस्ता शहरमा जोखिम कायमै रहेको जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । नेपालीहरूको ठूलो चाड दशै आउन २० दिन बाँकी रहँदा विद्यालय खोलेर थप संक्रमण फैलने पो हो कि भन्ने चिन्ता बढ्नु स्वाभाविक हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button