तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा पासपोर्ट बनाउन आएका अधिकांशले लिन्छन् सूचना तथा परामर्श सेवा

सिन्धुपाल्चोक । जिल्लामा राहदानी बनाउन आएका अधिकांशले सूचना तथा परामर्श सेवा लिने गरेको पाइएको  छ । गत आव २०७७।०७८ सालमा मात्रै पासपोर्ट बनाउन आउने ७६ प्रतिशत मानिसहरूले सो निःशुल्क परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारमा जाँदा हुने ठगी तथा अन्य समस्यामा पर्न सक्ने उच्च जोखिम भएका महिला तथा पुरुषहरूलाई यस केन्द्रले आवश्यकता अनुसारको परामर्श दिने गरेको आप्रवासी स्रोत केन्द्रका जिल्ला संयोजक अरुण पौडेलले बताउनुभयो  ।

विशेष गरी वैदेशिक रोजगारी र त्यसमा पनि खाडी मुलुकमा जाने सोच बनाएकाहरू सूचना तथा परामर्श सेवा लिनको लागि आउने गरेका पौडेलले बताउनुभयो  ।

आप्रवासी स्रोत केन्द्रसँगै स्विस सरकार र नेपाल सरकारको द्धिपक्षिय सम्झौता अनुरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत प्राप्त भएको सशर्त बजेट सामी/हेल्भेटासको प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको ४ वट स्थानीय तहहरूमा कार्यक्रमहरू सञ्चालन भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रत्यक्ष नेतृत्वमा कार्यक्रम सञ्चालन भइरहेको छ । सो परियोजनाले विशेषतः वैदेशिक रोजगारीमा जान चाहने महिला तथा पुरुषहरूलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचनामा पहुँच, न्यायमा पहुँच र सिपमा पहुँच अभिवृद्धि गर्ने गरेको जिल्ला संयोजक पौडेलले बताउनुभयो  ।

वैदेशिक रोजगारीका कारण नेपाली समाजमा विभिन्न किसिमका विकृति जन्य घटनाहरू सिर्जना हुन नदिन समेत सो परियोजनाले कार्य गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button