तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन २७ गते आव्हान

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि आगामी साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ । प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन आह्वान गरेबमोजिम सूचना प्रकाशित गरिएको उल्लेख गरेको छ । 

उक्त सूचनामा नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखबाट प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरिएकोले प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम उपस्थितिको लागि प्रदेशसभा सदस्यहरूलाई जानकारीको लागि सूचना प्रकाशित गरिएको उल्लेख छ । लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले सरकारविरुद्ध मङ्गलवार अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सरकारविरुद्ध विपक्षी गठबन्धनले बुझाएको अविश्वास प्रस्ताव यो तेस्रो पटक हो । यसअघि विपक्षी गठबन्धनले वैशाख ६ र २६ गते सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

यता सत्तारुढ दल नेकपा एमालेले भने प्रदेश प्रमुखबाट आव्हान गरिएको विशेष अधिवेशनप्रति आपत्ति जनाएको छ । प्रदेशसभामा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले संविधानको धारा १६८ को १ अन्तर्गत बनेको सरकारका विरुद्ध अविश्वास प्रस्ताव दर्ता अधिकार संविधानमा नरहेको भन्दै विशेष अधिवेशनका लागि प्रदेश प्रमुखले गरेको समावेदन संविधान विपरीत भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button