तपाईँ सुन्दै हुनुहुन्छः

थपिएको समय सीमाभित्र पुनः निर्माणको काम सक्न प्रमुख खुलालको निर्देशन

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्लामा भूकम्प पछिको पुनः निर्माणको कार्य सन्तोषजनक रहेको बताउनुभएको छ । भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी वार्षिक समीक्षा तथा जिल्ला पुनर्निर्माण सहजीकरण समितिको बैठकमा प्रमुख खुलालले थपिएको समय सीमा भित्र पुनर्निर्माणको काम सक्ने गरी अगाडी बढ्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन समेत दिनुभयो । 

प्रमुख खुलालले पुन निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा यसलाई थप व्यवस्थित बनाउँदै यथाशक्य छिटो सक्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले छुटेका लाभग्राहीहरूको हकमा सरकारले कुनै न कुनै तरीकाबाट सम्बोधन गर्ने हुँदा सधैँ यसैमा अल्झिएर बस्न नहुने बताउनुभयो । बैठकमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले समयमै सम्पन्न गर्ने गरी अगाडी बढ्न सुझाव दिनुहुँदै पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

बैठकमा पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन कार्यालय) का प्रमुख विमल किशोर केपीले पुनर्निर्माण र प्रबलीकरण समेत गरेर कुल पहिचान भएका ४८ हजार ९ जना लाभग्राही मध्ये हालसम्म ४३ हजार १ सय ९१ जना अर्थात् ९९ दशमलव ९ प्रतिशतले सम्झौता गरेर पहिलो किस्ता लिएको जानकारी दिनुभयो । 

यस्तै सम्झौता गरेका मध्ये घर निमार्ण सुरु गरेर ३१ हजार १ सय ४६ जना अर्थात् करिब ७२ प्रतिशतले दोस्रो किस्ता र २६ हजार ८ सय ७४ अर्थात् ६२ प्रतिशतले तेस्रो किस्ता लिइसकेको उहाँले बताउनुभयो । जिल्लामा पुनर्निर्माण तर्फ ३८ हजार ४६६ जना पहिचान भएका मध्ये ३५ हजार ७८७ जनासँग अनुदान सम्झौता भई पहिलो किस्ता रकम प्राप्त भइसकेका बताउनुभयो । 

यस्तै ३० हजार ९५१ जनाले दोस्रो र २६ हजार ८७४ जनाले दोस्रो किस्ता रकम प्राप्त गरिसकेको बताउनुभयो । यस्तै जिल्लामा ३४ हजार ८९० जनाले घर निर्माण गर्न सुरु गरेको र २३ हजार ७ सय लाभग्राहीको घर निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । 

त्यस्तै प्रबलीकरण तर्फ जिल्लामा पहिचान भएका ९ हजार ५४३ जना लाभग्राही मध्ये ७ हजार ४०४ जनासँग सम्झौता भई ७ हजार ३९७ जनाले पहिलो र १९५ जनाले दोस्रो किस्ता प्राप्त गरिसकेको उहाँले बताउनुभयो । जिल्लामा पुन निर्माण तर्फ २ हजार ६७९ जना र प्रबलीकरण तर्फ २ हजार २३९ जनासँग सम्झौता हुन नसकेको तथा पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी विभिन्न तरीका अपनाइए पनि १ हजार ३०७ जना लाभग्राही सम्पर्कमा आउन नसकेको उहाँले बताउनुभयो । 

यस्तै जिल्लामा ५ हार ६७२ भूमिहीन लाभग्राही पहिचान भएका मध्ये ५ हजार ५८३ जनासँग अनुदान सम्झौता भई ५ हजार ५७८ जनाले पहिलो र १ हजार ८६७ जनाले दोस्रो किस्ता रकम अनुदान प्राप्त गरिसकेको उहाँले जानकारी दिनुभयो । त्यस्तै जोखिम वर्गका ६२७ लाभग्राही पहिचान भएका मध्ये ५५७ जनाको अनुदान सम्झौता भई प्रथम किस्ता प्राप्त गरिसकेको तथा ४६४ जनाले दोस्रो र ३९९ जनाले तेस्रो किस्ता रकम प्राप्त गरेको उहाँले बताउनुभयो । 

त्यस्तै जिल्लामा २६ जना जोखिम वर्गका लाभग्राही पहिचान भएका मध्ये २५ जनाले अनुदान सम्झौता गरी प्रथम र दोस्रो किस्ता प्राप्त गरेको तथा ६ जनाले तेस्रो किस्ता प्राप्त गरेको उहाँले बताउनुभयो । यस्तै जिल्लमा २४ जनाले स्वेच्छाले अनुदान रकम फिर्ता गरेको, १३८ जनाको डमी खाताबाट रकम फिर्ता भएको, १९ जनाको पुन निर्माणबाट प्रबलीकरणमा परिवर्तन भएको, ३ हजार ७५५ जनाको प्रबलीकरणबाट पुनर्निर्माणमा परिवर्तन भएको उहाँले बताउनुभयो । यस्तै ५ हजार ५७६ जना भूमिहीन लाभग्राहीले साबिककै स्थानमा घर निर्माण गरेको तथा ६७ जना भूमिहीन लाभग्राहीले अन्यत्र जग्गा खरिद गरेर घर निर्माण गरेको र जोखिमयुक्त बस्तीबाट अन्यत्र जग्गा खरिद गरी २२ जना गएको उहाँले बताउनुभयो । 

उहाँले प्राविधिक पुग्नु अगावै बनेका ८२० घरहरू पहिचान भएको जानकारी दिनुभयो । यस्तै उहाँले मापदण्ड भन्दा बाहिर गएर घर बनाएका लाभग्राहीले इन्जिनियरले भने बमोजिम घर बनाउने कबुलियत नामा गरेमा अनुदान दिइने समेत जानकारी दिनुभयो । 

त्यस्तै भूकम्पले क्षति पुर्‍याएका जिल्लाका सरकारी भवनहरू कति सम्पन्न भइसकेको र कति निर्माणको क्रममा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर पाठकले जानकारी दिनुभयो । यस्तै जिल्लामा बन्ने पुरातात्त्विक सम्पदाहरूमा गुम्बाहरू कति निर्माण भइसेको र कति निर्माणकै क्रममा रहेको उहाँले बताउनुभयो । 

विसं २०७२ वैशाख १२ गते शनिबार आएको सो भूकम्पबाट जिल्लामा ४६ सरकारी भवन, ६५ स्वास्थ्य संस्था, १२४ गुम्बालगायत मठमन्दिरहरूमा क्षति भएको थियो । निजी आवास निर्माणको  समय सीमा २०७८ पुष ९ सम्म रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button