तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा भत्ता बाँड्न नगर प्रमुख तिमल्सिना आफै घरघरमा

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले अहिले अभियानकै क्रममा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेहरूका लागि घरघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफैँ नगरवासीको घरघरमा पुग्न थालेका छन् । 

सोही क्रममा नगर प्रमुख तिमल्सिना आफैँ विभिन्न वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा सरिक भएका हुन् । नगरका ज्येष्ठ नागरिक र असक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू नागरिकको घरघरमा पुगेको नगर प्रमुख तिमल्सिनाले बताउनु भयो  । 

अभियानको क्रममा उनले ज्येष्ठ तथा असक्त नागरिकको समस्या बुझ्नै उनीहरूका लागि नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा चासो समेत व्यक्त गर्नु भयो । उहाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिऋद्धतासमेत जनाउनु भयो । सोही अवसरमा नगर प्रमुख तिमल्सिनाले बिरामी भएर घरमै बसेकाहरूका लागि औषधीसमेत वितरण गर्नु भएको छ  ।

नगरप्रमुख तिमल्सिनाले ज्येष्ठ नागरिकका लागि नगरपालिकाले यस बर्ष विशेष कार्यक्रमहरू अघि सारेको पनि बताउनुभयो  । ‘यो बर्ष कान सुन्न नसक्ने एक सय जनाका लागि आवश्यक मेसिन र एक सय जना व्यक्तिका लागि दाँत राख्ने कार्यक्रम अघि सारेको छु’ नगर प्रमुख तिमल्सिनाले भन्नु भयो, ‘मोतियाविन्दुको समस्या भएका वृद्ध बा आमाका लागि यसअघि नै निःशुल्क शल्यक्रियाको व्यवस्था नगरपालिकाले मिलाएको छ ।’

नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेहरूका लागि घरघरमै मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गरिरहेको हो । सम्बन्धित बैङ्कका कर्मचारीसहित अशक्त व्यक्तिको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ । 

यो अभियानअन्तर्गत हालसम्म बैङ्कसम्म जान नसक्ने वृद्धवृद्धा, अशक्त र दीर्घ रोगी गरी ४६ जनाको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको  सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले जानकारी दिनु भयो । 

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा ३ हजार २ सय ९१ जना रहेका छन् । त्यसमध्ये मासिक ३ हजार रुपैयाँ भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक १ हजार ९ सय २ जना रहेका छन् भने २ हजार रुपैयाँ मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको सङ्ख्या १ सय २१ रहेको छ ।

यस्तै २ हजार रुपैयाँ मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३ सय ९३ तथा २ हजार रुपैयाँ नै भत्ता पाउने विधवा ५ सय २ जना रहेका छन् । यसै गरी मासिक ३ हजार रुपैयाँ भत्ता पाउने पूर्ण अपाङ्गको सङ्ख्या ७१, मासिक १६ सय रुपैयाँ पाउने आंशिक अपाङ्गको सङ्ख्या ७५ तथा मासिक ४ सय रुपैयाँ भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि ५ वर्षसम्मका)को सङ्ख्या २ सय २७ रहेको छ । 

नमोबुद्ध नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घ रोगीलाई घरघरमै बैङ्कका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button