तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा ६३ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

चौतारा । सिन्धुपाल्चोक जिल्लामा ६३ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मङ्गलवारसम्म ६३ हजार ९ सय २९ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाँइका अनुसार माग १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गतको  कोभिसिल्ड खोप १५ हजार २ सय ६६ जनाले पहिलो र ३ हजार ३ सय ६७ जनाले दोस्रो डोज खोप लगाइ सकेका छन् । ३२ हजार  १ सय ६४ जनाले भेरोसिलको पहिलो डोज लगाइसकेका छन् भने ५ हजार १ सय ११ जनाले दोस्रो डोज लगाई सकेका छन् । त्यस्तै  जोन्सन एण्ड जोन्सन खोप भने ८ हजार  १५ जनाले लगाई सकेका छन् ।

जिल्लामा झण्डै २ लाख जनालाई खोप लगाउनु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जुगल र भोटेकाशी गाउँपालिकामा सबै उमेर समूहलाई लगाउने गरी खोप पठाइ सकेको स्वास्थ्य प्रमुख चापागाँइले जानकारी दिनु भयो । बाढी पहिरोबाट प्रभावित मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका सबै उमेर समूहका नागरिकका लागि खोप लगाउन सुरु भएको पनि उहाँले जानकारी दिनु भयो । 

यसै बीच चौतारा साँगाचोकगढी नगरपालिकाले अशक्त र अपाङ्गता भएकाहरूका लागि घरमा नै गएर कोरोना विरुद्धको खोप उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकले तोकेको खोप केन्द्रमा गएर  खोप लगाउन नसक्ने अति अशक्त, वृद्धवृद्धा र अपाङ्गता भएकाहरूलाई घरमा नै खोप सेवा उपलब्ध गराइएको उपमेयर जानुका पराजुलीले बताउनु भयो ।

उपमेयर पराजुलीकै नेतृत्वमा हालसम्म वडा न १०, ११ र १२ का १६ जनालाई घरदैलोमा नै पुगी खोप लगाई सकेको छ भने यो अभियान नगरको सबै वडामा सञ्चालन गरिने समेत उहाँले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button