तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो परिमाणको गाजा र नाईट्रोभेटसहित पाँच जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले १२७ किलो लागू औषध गाँजासहित दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । 

प्रहरीले पूर्वपश्चिम राजमार्ग स्थित मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीबाट बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई छिपाई ल्याएको १२७ किलो गाँजासहित दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेहरूमा भारतको बेशाल बस्ने ३८ वर्षीय रामराज सहनी, भारतको समस्तिपुर बस्ने १८ वर्षीय राहुल कुमार सहनी र वीरगन्ज महानगरपालिका– ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


पक्राउ परेका उनीहरू विरुद्ध आवश्यक अनुसन्धानका साथै कानुनी कारबाही अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।


नाईट्रोभेटसहित दुई जना पक्राउ

यसैबिच मकवानपुर प्रहरीले लागू औषध नाईट्रोभेटसहित हेटौँडा स्थित एक रेस्टुरेन्टबाट बुधवार दुई जनालाई पक्राउ गरेको छ । 


हेटौँडा उपमहानगरपालिका–१० स्थित एक रेस्टुरेन्टबाट १ हजार १२५ ट्याब्लेटसहित मङ्गलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


पक्राउ पर्नेहरूमा बाराको निजगढ नगरपालिका–१३ बस्ने १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेको प्रहरीले जनाएको छ । 


विशेष सूचना आधारमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१० स्थित गेस्ट हाउसमा उनीहरूले बोकेको झोला चेकजाँच लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।


पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धानका साथै कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button