तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची बाढी प्रभावितको अवस्था दयनीय

काठमाडौँ । शनिबार देखि मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो भौतिक र मानवीय क्षति गरेको छ । बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी–थाङपाल गाउँपालिकाभित्रका  नदी तटीय क्षेत्रमा रहेका निजी आवास, विद्यालय, सरकारी भवन र मठमन्दिरमा ठूलो क्षति भएको हो ।

डेढ महिना देखि मेलम्ची नदीमा आएको बाढीका कारण  सिन्धुपाल्चोकका तीन वटा स्थानीय तहले धनजनको क्षति व्यहोरेको छ । जोखिम न्यूनीकरण, क्षतिपूर्ति र उद्धार जस्ता कार्यमा राज्य संयन्त्रले सधैँ ढिलासुस्ती  गर्दा प्रभावितहरू कहाँ गएर बस्ने र के खाने भन्ने चिन्तामा रहेको स्थानीहरूले बताएका छन् । 

पर्यटकीय क्षेत्र मेलम्ची बजार र हेलम्बुलाई बाढीले पूर्ण रुपमा क्षतविक्षत बनाएको छ । अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेका यस क्षेत्रलाई पुरानै अवस्थामा फर्किन निकै कठिन हुने देखिएको छ । तत्कालको लागि गाँस,बाँस कपास र बस्ती स्थानान्तरणको काम भइरहेको हेलम्बु गाउँपालिकाका दाबी छ ।

मेलम्ची बजार आसपासका खेतका फाँटमा पनि अहिले मेलम्ची र इन्द्रावती नदी बगिरहेको छ ।  बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ६ वटा पक्की पुल र १२ वटा झोलुङ्गे पुल बगाएको छ । बाढीले विकासका पूर्वाधारमा क्षति पुगेकाले पर्यटकीय नगरी मेलम्चीका व्यवसायी विस्थापित हुने अवस्थामा छन् । बाढीले खेतीयोग्य जमिन र पूर्वाधार विकासका संरचनाहरूमा क्षति गरिरहँदा बस्ती संरक्षणमा समस्या भएको मेलम्ची नगरपालिकाले जनाएको छ 

१६ गतेपछि बाढीले १०८ घरमा क्षति पुर्‍याएको छ । मोटरबाटो , विद्युत् लगायतको संरचनामा क्षति पुग्दा अस्थायी आवास निमार्णको काम पनि प्रभावित भएको छ ।

बाढीबाट हेलम्बुका पाँच जनाको मृत्यु भएको छ भने २० जना बेपता छन् । असार १ पछि हेलम्बु मेलम्चीमा ३ सय ४ निजी घरसहित गोठ र चार वटा सरकारी भवन हजारौँ रोपनी ध्वस्त भएका छन् भने निजी र सामुदायिक गरी ४ वटा विद्यालय , दश वटा ट्राउट माछा फार्म पूर्ण रुपमा क्षति भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button