तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीयद्धारा गाउँको कानुन संशोधन

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–१० अन्तर्गत पर्यटकीय खासुर गाउँमा स्थानीय कानुन संशोधन भएको छ । आफ्नो गाउँको कानुन आँफै बनाउने परम्परागत चलन अनुसार स्थानीय गाउँलेहरुको भेलाले एक वर्षका लागि विभिन्न नीति नियम बनाएका हुन् ।

गुरुङ बस्तीको बाहुल्यता रहेका जिल्लाका प्राय गाउँहरुमा नयाँ कानुन बनाउने परम्परागत चलन छ । सोहि अनुसार गाउँघरमा प्रयोग गरिने मानापाथी, सेरधानी तथा दैनिक ज्यालादारीको मुल्य तोक्नुको साथै गाउँमा रितिथिति व्यवस्थापन सम्वन्धी प्रत्येक वर्ष कानून तथा नियम संशोधन हुने गर्दछ ।

खासुर गाउँका स्थानीयको भेलाले आगामी एक वर्षका लागि ज्याला, कुखुरा चौपायाको मासु, अन्नपात लगायतका खाद्यान्नको मुल्य तोकेका हुन् । स्थानीय दुधप्रसाद घलेका अनुसार खासुर गाउँमा आगामी एक वर्षका लागि मेलापात ज्याला पुरुषका लागि ४ सय र महिलाका लागि ३ सय ५० रुपैया कायम भएको छ ।

यस्तै मान्छे सहित हलगोरुका लागि १ हजार १ सय रुपैया कायम भएकोमा प्रयोगकर्ता आँफैले गोरुलाई घाँस खुवाउने अवस्थामा १ सय रुपैया कम दिने निर्णय भएको छ । अन्य प्रायोजनका लागि मिस्त्रीहरुलाई १ हजार र सहयोगीलाई ८ सय रुपैया कायम भएको छ ।

त्यसैगरी गाउँले भेलाले आगामी एक वर्षका लागि गाउँमा मासुजन्य खरिद विक्रीको लागि पनि मुल्य निर्धारण गरेको छ । जसमध्ये भेडाको साँढको मासु प्रतिधार्नी २ हजार, माउ भेडाको मासु प्रतिधार्नी १ हजार ६ सय र कुनै कारणबस मरेका भेडाको मासु प्रतिधार्नी १ हजार मुल्य निर्धारण भएको छ ।

भेलाले बाख्राको मासु पनि प्रतिधार्नी १ हजार कायम गरेको छ भने लोकल कुखुराको मासु प्रतिकिलो ७ सय र गिरिराज कुखुराको मासु प्रतिकेजी ५ सय रुपैया कायम भएको छ ।

अन्नपात तर्फ धान पुरानो प्रतिपाथी १ सय २० रुपैया, नयाँ प्रति पाथी १ सय रुपैया कायम भएको छ । त्यस्तै कोदो पुरानो प्रतिपाथी २ सय रुपैया र नयाँ १ सय ८० रुपैया कायम भएको छ । एक वर्षका लागि मकैको मुल्य भने प्रति पाथी ७० रुपैया कायम भएको घलेले जानकारी दिनुभयो ।

गाउँलेहरुले स्थानीयरुपमा उत्पादन हुने घिउको मुल्य प्रतिमाना ८ सय ५० कायम गरेका छन् भने मह प्रतिमाना ८ सय र रक्सी प्रति बोत्तल १ सय रुपैया कायम भएको छ । ७ बोत्तल भन्दा बढि रक्सी खरिद गर्दा प्रतिबोत्तल १० रुपैया कम लिने गाउँलेहरुको निर्णय छ ।

खासुर गाउँमा प्रत्येक श्रावण महिनामा गाउँभेला गरी एक वर्षका लागि दररेट तथा विभिन्न कानुन नीति नियम संशोधन हुने गरेको छ । वर्ष विचमा कुनै नियम परिवर्तन गर्नुपरे गाउँका ठूलाबडा जम्मा भएर संशोधन गर्ने चलन पनि छ ।

लमजुङका प्राय गुरुङ समूदायमा देशको कानुन मान्ने र गाउँको कानुन प्रयोग गर्ने चलन छ । स्थानियले बनाएको कानुन नमान्ने तथा उल्लँघन गर्नेलाई दण्ड तथा जरिवाना गर्ने समेत चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button