तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक राजश्व कार्यालय हेटौँडाबाट लक्ष्यभन्दा बढी राजश्व सङ्कलन

मकवानपुर । आन्तरिक राजश्व कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । 

कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यभन्दा १२ करोड ८७ लाख ७५ हजार रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको प्रमुख कर अधिकृत शालिकराम आचार्यले जानकारी दिनुभयो । 

आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७७/०७८ को लागि ५ अर्ब ३९ करोड ९४ लाख ७३ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य दिएकोमा ५ अर्ब ५२ करोड ८२ लाख ४८ हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको आचार्यले बताउनुभयो । 

कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा आयकरतर्फ ९५ करोड ९१ लाख ३८ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा १ अर्ब ९ करोड ५२ लाख ८३ हजार रुपैयाँ अर्थात् ११४ प्रतिशत राजश्व सङ्कलन गरेको छ । 

यस्तै बहाल करतर्फ ३ करोड १९ लाख ६३ हजार रुपैयाँ उठाउने लक्ष्य राखेकोमा २ करोड ६१ लाख १८ हजार, ब्याज करमा ४ करोड ७ हजार रुपैयाँ लक्ष्य राखेकोमा ४ करोड ५५ लाख ८ हजार, मूल्य अभिवृद्धि करमा ९१ करोड ५४ लाख ७९ हजार लक्ष्य राखेकोमा १ अर्ब ३२ करोड ३० लाख ७५ हजार रुपैयाँ सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । 

यसैगरी अन्तःशुल्कतर्फ ३ अर्ब १४ करोड ५४ लाख ६९ हजार लक्ष्य राखेकोमा २ अर्ब ८६ करोड ९० लाख २१ हजार रुपैयाँ मात्र सङ्कलन गर्न सफल भएको आचार्यले बताउनुभयो । 

कार्यालयले गत वर्षको तुलनामा यस वर्ष १ सय १५ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो । 

आर्थिक वर्ष २०७६/७७ मा कार्यालयले ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । 

कोरोना प्रभावले सबै क्षेत्र अस्तव्यस्त हुँदा पनि लक्ष्यभन्दा बढी राजश्व सङ्कलन हुनुलाई सन्तोषजनक मान्न सकिने आचार्यले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button