तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण दर झापामा सबैभन्दा उच्च

झापा । दोस्रो लहरको कोरोना सङ्क्रमणको सङ्ख्या र संक्रमण दर झापामा सबैभन्दा बढी रहेको पाइएको छ । झापामा परीक्षण गरिएकामध्ये सरदर ३५ प्रतिशतमा संक्रमण पाइएको हो । 


देशभरिको संक्रमण दर करिब २० देखि २५ प्रतिशतको हाराहारीमा रहँदा झापामा भने दैनिक जसो ३५ प्रतिशतभन्दा बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।


झापामा मङ्गलवार मात्रै ९११ जनाको कोरोना परीक्षण गर्दा ३४९ जनामा संक्रमण पुष्टि भएको थियो । यो परीक्षण सङ्ख्यामा ३८.३ प्रतिशत संक्रमण पुष्टि भएको प्रतिशत हो ।


पछिल्लो एक सातामा झापामा संक्रमण पनि ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन १४ गते सङ्क्रमणको दर सबैभन्दा बढी ४१.८ प्रतिशत थियो । साउन १८ गते सोमबार ३४.३, साउन १७ गते ३८.४, साउन १६ गते ३४.८, साउन १५ गते ३२.९ र साउन १३ गते ३२.९ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।


जिल्लाका १५ स्थानीय तहमध्ये सहरी क्षेत्र बढी रहेको दमक, बिर्तामोड, मेचीनगर, भद्रपुर, अर्जुनधारा र कनकाई नगरपालिकामा धेरै संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चौलागाईले बताउनुभयो ।


उहाँले जनसङ्ख्याको बढी चाप भएको क्षेत्रमा भिडभाड गर्नाले सङ्क्रमणको जोखिम बढेको बताउनु भयो । नागरिकले जनस्वास्थ्यको न्यूनतम मापदण्डसमेत पालना नगर्दा संक्रमण रोकथाममा समस्या देखिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button