तपाईँ सुन्दै हुनुहुन्छः

थप ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट ४ हजार १ सय ७ जना संक्रमित भएका छन् । 


गत २४ घण्टामा परिक्षण गरिएकामध्ये राष्ट्रिय औसत दरभन्दा बढी २६ दशमलव २ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समीर अधिकारीले जानकारी दिनुभयो । 


११ हजार ३ सय ५४ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ९ सय ७५ जना तथा ४ हजार ९ सय ४४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ३२ जना गरी जम्मा ४ हजार १ सय ७ जनामा  संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा काठमाडौँ उपत्यकामा १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि जनाएको छ । जसमा भक्तपुरमा २ सय ६, ललितपुरमा १ सय ६५ र काठमाडौँमा ९ सय ८ जना गरी जम्मा १ हजार २ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । 


देशभरबाट गएको २४ घण्टामा १ हजार ५ सय ३५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 


देशभरि आज कोरोना सङ्क्रमणबाट ३५ जनाको मृत्यु भएको मन्त्रालयका सह प्रवक्ता डा.अधिकारीले जानकारी दिनुभयो । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ९ सय ५७ पुगेको छ । 


देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३३ हजार ४ सय ६४ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । जसमा आइसियुमा ७ सय १४ र भेन्टिलेटरमा १ सय ५६ जनाले उपचार गराइरहेका छन् । 


सरकारले कोरोना सङ्क्रमणको महामारीलाई नियन्त्रण गर्न अहिलेसम्म एक करोड डोज खोप प्राप्त गरेको र २० लाख ७४ हजार ७ सय ८६ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो ।


मन्त्रालयले आज गरेको नियमित प्रेस विफ्रिङमा नेपालमा अहिलेसम्म दुई जिल्ला मनाङ र मुस्ताङमा पूर्ण रुपमा खोप लगाइसकिएको जनाएको हो । 


सरकार नागरिकको घरदैलोमा खोप केन्द्र सञ्चालन गर्ने अभियानमा रहेको उल्लेख गर्दै सह प्रवक्ता अधिकारीले अहिले जोखिम र पालो अनुसार खोप व्यवस्थापन गर्दै लैजाने जानकारी दिनुभयो । 


महामारीकाबीच जनजीविका खुकुलो भएसँगै व्यवहार परिवर्तन हुन थालेको भन्दै सरकारले साउन २३ गतेदेखि २९ गतेसम्म ‘म पनि मास्क लगाउँछु र अरूलाई पनि प्रेरित गर्छु’ भन्ने नेपाल मास्क अभियान सञ्चालन गर्न लागेको जनाएको हो । 


यसैगरी सरकारले स्तनपान सप्ताह मनाइरहेको उल्लेख गर्दै कोरोना संक्रमित आमाले पनि आफ्ना शिशुलाई अनिवार्य स्तनपान गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button