तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिकताको आधारमा प्रदेशको योजना निर्माण गर्नुपर्नेमा जोड

जनकपुरधाम । प्रदेश सरकारले सञ्चालन गर्ने योजनाहरू ठोस एवं प्रदेश तथा देशको विकासमा टेवा दिने किसिमको हुनु पर्नेमा विज्ञहरूले जोड दिनुभएको छ ।

प्रदेश नंं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको वार्षिक समीक्षा तथा प्रदेश मन्त्रालय विकास समस्या समाधान समितिको बैठकमा सहभागीहरूले वडा तथा पालिकाले सञ्चालन गर्ने स–साना विकासको काम मन्त्रालय स्तरबाट हुन नहुनेमा जोड दिनुभयो । 

विज्ञहरूले अहिले प्रदेश सरकारले सञ्चालन गरेको साना तथा खुद्रा किसिमको कार्यक्रमले ठोस प्रतिफल दिन नसक्ने बताउँदै अव विकासको काम गर्दा जनताले विकास भएको अनुभूति गर्ने किसिमका कामहरू मात्र गर्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा बोल्दै प्रदेश नंं २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेशको योजनाको निर्माण आवश्यकता तथा प्राथमिकताको आधारमा हुनु पर्नेमा जोड दिँदै राम्रो काम गर्नेलाई पुरस्कार तथा नराम्रो काम गर्नेलाई दण्डको नीति अख्तियार गरिने बताउनुभयो । 

उहाँले विकासका लागि प्रतिबद्धता, इमानदारिता तथा नैतिकता आवश्यक रहेको बताउनुहुँदै त्यसमा आफूले खरो रुपमा उत्रने प्रयास गर्ने बताउनुभयो । 

भौतिक विकास मन्त्री यादवले विकासका लागि समन्वय एवं सहकार्य आवश्यक भएको भन्नुहुँदै त्यसका लागि आफूले मुख्यमन्त्री तथा अन्य मन्त्रीहरूसँग समन्वय बताउनुभयो । 

प्रदेश नंं २ को नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले योजना निर्माण तथा कार्यान्वयन अर्थशास्त्रको सिद्धान्त अनुसार प्रदेश सरकारका सबै मन्त्रालयहरूले काम गर्नु पर्नेमा जोड दिनुभयो । 

डा. झाले अर्थशास्त्रको सिद्धान्त अनुसार योजनाको निर्माण तथा कार्यान्वयन भएको खण्डमा विकास प्रतिको जनअपेक्षा पुरा गर्न सकिने बताउनुभयो । 

उहाँले विकासका आधार नै भौतिक पूर्वाधार भएको बताउनुहुँदै यसका लागि अनुगमन मूल्याङ्कन तथा आत्म समीक्षा गर्नका लागि यस्ता प्रकारको कार्यक्रम महत्त्वपूर्ण भएको बताउनुभयो । 

प्रदेश नंं २ को नीति तथा योजना आयोगका सदस्य डा.वैद्यनाथ महतोले विकासको काम जनताको चाहना तथा प्रदेशको आवश्यकता अनुसार हुनुपर्ने धारणा राख्नुभयो । 

This image has an empty alt attribute; its file name is 1628065190236-1024x768.jpg

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दिपक कुमार दासले अब मन्त्रालयले साना विकासको योजनाहरू सञ्चालन नगरेर ठुला तथा ठोस विकासको योजनाहरू सञ्चालन गर्ने पक्षमा रहेको बताउनुभयो । 

उहाँले विगतमा सञ्चालन भएको कतिपय योजनाहरू साना तथा वडा स्तरको भएको जून अन्य प्रदेशमा नभएको बताउनुभयो । 

प्रदेश नंं २ का अधिकांश मन्त्रालयहरूले भौतिक पूर्वाधारको निर्माणमा नै जोड दिइएको पाइएको बताउनुहुँदै त्यस कारणले पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको काम ठोस हुनु पर्ने पक्षमा आफू भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा मन्त्रालय अन्तर्गतका ८ वटै जिल्लामा रहेको कार्यालयहरूका प्रमुखहरूले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन गरेको योजनाहरूको बारेमा प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button