तपाईँ सुन्दै हुनुहुन्छः

सवारी चालक अनुमति पत्र र इम्बोस्ट नम्बर प्लेटको सम्बन्धमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सवारी चालक अनुमति पत्र र इम्बोस्ट नम्बर प्लेटको सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफल गरेको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले कतिपय नीतिगत कमजोरीका कारण सवारी अनुमति पत्र तथा इम्बोस्ट नम्बर प्लेट वितरण प्रक्रियामा असहजता देखिएको जानकारी दिनुभयो ।

सचिव श्रेष्ठले सवारी अनुमति पत्र देशको राष्ट्रिय परिचय पत्र जस्तै रहने सन्दर्भमा प्रदेश स्तरबाट फरक शैलीमा जारी गर्ने प्रावधानले राष्ट्रिय परिचयमा असर पर्ने स्थिति सृजना भएको बताउनुभयो ।

यातायात क्षेत्रका धेरै विषय प्रविधिसँग जोडेर विकास अघि बढाउने योजनामा मन्त्रालयले काम अघि बढाएको पनि सचिव श्रेष्ठले समितिलाई जानकारी गराउनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कोभिड–१९ले उत्पन्न गरेको असहज स्थितिका कारण योजना कार्यान्वयनमा चुनौती थपिएको भए पनि अनुमति पत्र तथा  इम्बोस्ट नम्बर प्लेटको व्यवस्थापनमा विभागले विशेष जोड दिएर काम गरिरहेको बताउनुभयो ।

आधुनिक मेसिनको प्रयोगमार्फत धेरै कार्ड छाप्ने व्यवस्था मिलाएकोले आगामी दिनमा अनुमति पत्र लिन धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button