तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षदेखि ब्लड बैङ्क भवन प्रयोग विहीन

सल्यान ।  ब्लड बैङ्क भवन स्थापना भएको एक वर्ष बितिसक्दा पनि भवन प्रयोग विहीन भएको छ । 

सल्यान जिल्ला अस्पतालको परिसरमा ब्लड बैङ्क स्थापनाका लागि भवन निर्माण भएको एक बर्ष पुगिसक्दा पनि प्रयोगमा विहीन हुन पुगेको हो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको २० लाखमा तीन कोठे भवन निर्माण गरिएको एक बर्ष पुरा हुँदा पनि ब्लड बैङ्क सञ्चालन हुन सकेको छैन । आवश्यक जनशक्ति अभाव हुँदा भवन निर्माण भए पनि सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले यसबारेमा नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले ब्लड बैङ्क सञ्चालनका लागि आवश्यक पर्ने औजार उपकरणहरू भए पनि जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको बताउनुभयो । 

रेडक्रस आफैले जनशक्ति पदपूर्ति गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि समस्या भएको उहाँको भनाई छ ।

जिल्लामा सरकारीसहित निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा रहेका भए पनि रक्त सञ्चार केन्द्र नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैङ्क नभएपछि निकै समस्या हुने गरेको छ ।

अहिले जिल्लामा मोबाइल ब्लड बैङ्क सञ्चालन भई रहेको छ ।  तर आकस्मिक रुपमा रगत चाहिएको अवस्थामा बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button