२०७८ साल असोज ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

उच्च जोखिमका घरमा बस्ने तयारी नगर्न मेलम्ची नगरपालिकाको अपिल

देवराज सुवेदी २०७८ साउन १९ गते २०:००
file photo

सिन्धुपाल्चोक । असार १ गतेदेखि आएको बाढीले नदी तटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै नगरपालिकाको आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 


असार १ गते देखि नै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रण देखि बस्ती जोगाउन अथक प्रयास गरेको नगरपालिका द्वारा जारी अपिलमा भनिएको छ । बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुसी व्यक्त गरेको छ । 


तत्कालको लागि सामूहिक रुपमा बास स्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरूलाई बासको व्यवस्था गरेको बताएको छ । साथै ग्याँस, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासन समेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका खेलेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । 


पहिरोको माथिल्लो भेगको अवस्थाको मूल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरूको निरन्तर सल्लाह र सुझाव बमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । 


हालसम्म नगरपालिका मार्फत ग्याविन बक्स १२७८ थान, ४७८ टिप ढुङ्गा, ७ वटा मेशिन लगातार १ महिनासम्म खोलामा आवश्यकताको आधारमा प्रयोग एवम् परिचालन गरिएको जनाएको छ । यस कार्यमा भएका खर्चहरू नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजनिक गर्दै आएको अर्यालले बताउनुभयो ।


बाढी प्रभावितहरूको सम्पुर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाले प्रभावितहरूको वर्ग छुट्याएर २५, २०, १५ र १० हजारको दरले तत्कालको लागि प्रभावितहरूको बैङ्क खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ । 


प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धता समेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा जनाइएको छ ।  प्रभावितको राहत तथा उद्धारको लागि नगरपालिका व्यक्ति, सङ्घसंस्था, समूहसँग जति बेला पनि छलफलको लागि तयार रहेको उल्लेख गरिएको छ ।


नगरपालिका भित्रका तालामाराङ देखि ढाडखोला किनारमा रहेको बस्तीहरूलाई संरक्षण गर्ने देखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताउनुभयो । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारको घरहरू सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमको हिसाबले उपयुक्त नभएको नगरपालिकाको ठहर छ । बाढी प्रभावित नागरिकको गाँस, बाँस र स्वास्थ्य उपचारको अभाव हुन नदिइने नगरपालिकाले जनाएको छ । 


नगर बासीको जिउधनको सुरक्षा र संरक्षण गर्ने कुरामा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने भन्दै नगरपालिकाले थप काम गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति, समूहहरू स्वयं नगरपालिका आएर छलफलका माध्यमबाट समस्याको समाधान गर्न समेत नगरपालिकाले अपिल गरेको छ । 

सम्बन्धित