तपाईँ सुन्दै हुनुहुन्छः

मध्यपश्चिम विश्वविद्यालयको परीक्षा एक हप्ताको लागि स्थगित

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ । विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता सारिएको छ । 

मध्यपश्चिम विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालयले आज सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाका कार्यक्रम असामान्य परिस्थितिका कारण पुनःएक साताका लागि स्थगित गरिएको जनाएको छ । परीक्षा व्यवस्थापन कार्यालयले साउन १२ गतेदेखि सञ्चालन गर्ने गरी विज्ञान तथा प्रविधि सङ्कायको स्नातक र स्नातकोत्तर तहको सत्रान्त परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो । विश्वविद्यालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत विद्यार्थी सङ्गठनबीच भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन । 

केन्द्रीय क्याम्पसमा विद्यार्थी सङ्गठनले १८ बुँदे माग राख्दै तालाबन्दी गरेका छन् । अनलाइन माध्यमबाट पढाइ भएपछि परीक्षा पनि अनलाइन माध्यमबाटै लिनुपर्ने विद्यार्थीको मुख्य माग छ । विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने तयारी गरेपछि विद्यार्थीले असहमति जनाएका हुन् । विश्वविद्यालय प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको भन्दै आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा डा नन्दबहादुर सिंह निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरेका थिए । 

त्यस्तै, प्राध्यापकहरूले इञ्जिनीयरिङ क्याम्पस र ल स्कुलका उपप्राध्यापक बर्खास्त ऐन–नियम विपरीत भएको भन्दै उक्त निर्णय सच्याउनु पर्नेलगायत माग राखेका छन् । विश्वविद्यालयले परीक्षा समय अगावै विद्यार्थीलाई प्रश्न पत्र सार्वजनिक गरेको अभियोगमा कानून सङ्कायका उपप्राध्यापक सुजन पन्त र आफूखुसी नम्बर दिएको भन्दै इञ्जिनीयरिङ सङ्कायका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button