तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरका कृषकलाई कृषि यन्त्र तथा उपकरण वितरण

झापा । झापाको मेचीनगर नगरपालिकाले विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ । 


नगरपालिकाले आज एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरूलाई कृषि यन्त्र तथा उपकरणहरू हस्तान्तरण गरेको हो ।


नगरप्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रीकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यसतर्फ नगरपालिकाले कदम चालेको बताउनुभयो ।


नगरपालिकाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा ४० लाख ५२ हजार ८ सय रुपैयाँका आधुनिक कृषि यन्त्र वितरण गरेको हो ।
नगरपालिकाका १५ वटै वडालाई यो कार्यक्रमले समेटेको छ । कृषक, समूह, फार्म र सहकारी गरी ९८ वटा छनौट भए पनि अनुदान प्राप्त गर्नेको सङ्ख्या ६८ रहेको छ ।


कार्यक्रममा उनीहरूलाई हाते ट्याक्टर २७ थान, कुटि काट्ने मेशिन ४७ थान, मकै गोड्ने मेशिन ६ थान, व्हील व्यारो १२ थान तथा धान काट्ने मेशिन र साइलेज कटर एक/एक थान वितरण गरिएको छ ।


नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेतीले संयुक्त रुपमा कृषि यन्त्र तथा उपकरणहरू हस्तान्तरण गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button