तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय माध्यमबाट निशूल्क खोप प्रमाणीकरण गर्न मन्त्रालयको अनुरोध

File photo

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानुपर्ने नागरिकहरूलाई निशूल्क र विद्युतीय माध्यमबाट खोप प्रमाणीकरण गर्न सातै प्रदेश तथा ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलार्ई अनुरोध गरेको छ । 


मन्त्रालयले आज सूचना जारी गरी वैदेशिक रोजगारी, अध्ययन, उपचार तथा कामका सिलसिलामा विदेश जाने नागरिकलाई कोभिड–१९ खोप लगाएको कार्डका आधारमा प्रमाणीकरण निशूल्क गर्न देशभरिका ५० शैया माथिका अस्पतालहरूलाई अनुरोध गरेको छ । 


मन्त्रालयले आउँदो भदौ १ गते देखी पहिले दर्ता ( प्री रजिष्टेशन) गरी खोप लगाउन र सूचना प्रणालीबाट (QR) क्यु.आर. कोड सहितको प्रमाण पत्र विद्युतीय माध्यमबाट उपलब्ध गराउन समेत अनुरोध गरेको हो । 


यस्तै खोप लगाउने अन्य नागरिकका हकमा समेत प्री रजिष्टेशन गरी सोही आधारमा खोप लगाउने व्यवस्था गर्न सूचनामा आग्रह गरिएको छ । 


देशभर ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि 

कोरोना भाइरसबाट आज ३ हजार ३ सय ८३ जना संक्रमित भएका छन् । 


१६ हजार ७ सय १८ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षणबाट ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


यसैगरी आज १ हजार ९ सय ९४ जना संक्रमित निको भएका छन् । 


हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 


यस्तै कोरोनाका कारण आज थप २४ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ९ सय २२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button