तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा पशुहरूमा पहिलो पटक लम्पी स्किन रोग देखा पर्‍यो

कञ्चनपुर । कञ्चनपुरमा पशुहरूमा पहिलो पटक लम्पी स्किन रोग देखा परेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखा परेको हो । 

पशुको शरीर भरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलो पटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताउनु भएको छ ।

उहाँले यस्तो सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएको समेत बताउनुभयो । रोग देखा परेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनिएको उहाँको भनाइ  छ । 

६ किसानका दुई दर्जन भन्दा बढी पशु एक साता अघिदेखि सो रोगबाट सताइएकामा बाच्छाबाच्छीमा समेत सङ्क्रमण देखा परेको छ ।

स्थानीय किसानका अनुसार सङ्क्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिँगान बग्नेलगायत लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ । भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको स्थानीय किसान वीरसिंह महराले बताए ।

सङ्क्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न आग्रह गरिएको छ । रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button