तपाईँ सुन्दै हुनुहुन्छः

आधारभूत सेवा नपाएको स्थानीयको गुनासो

बीरगंज । पर्साको ठोरी गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने १ सय ५० बर्ष भन्दा पुरानो बस्ती शिकारीवासका सर्वसाधारणहरुले अहिले पनि नेपाल सरकारबाट प्राप्त हुने शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो घाटो, विद्युत् जस्ता आधारभूत सेवाहरू समेत पाउन नसकेको गुनासो गरेका छन् । 


पर्सा जिल्लाको १४ वटै पालिकाको सम्पूर्ण वडाका टोल बस्ती घर घरमा बिद्युत् सेवा सञ्चालनमा रहेको भए पनि शिकारीवासका जनता हालसम्म अन्धकारमा बस्न बाध्य रहेको स्थानीय युवा राजेन्द्र चौधरीले बताउनुभयो । 


शिकारीवास बस्ती ठोरी गाउँपालिकाको निर्मल बस्तीबाट करिब ७ किलोमिटर उत्तर पश्चिम तथा ब्रह्मा नगरबाट करिब तीन किलो मिटर उत्तर पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज दोसाँधको जङ्गल भित्र रहेको छ । यहाँ करिब ५२ घरधुरीका २ सय ५० जना थारु समुदायका बासिन्दाहरू बसोबास गर्दै आएका छन् ।


बत्ती नभएका कारण परम्परागत मट्टीतेलबाट बल्ने टुकीकै सहारामा स्थानीय बासिन्दा रात बिताउँदै आएका छन् । हुने खानेले सोलार बत्ती जडान गरेको भए पनि अधिकांशको घरमा टुकी बल्ने गरेको चौधरीले गुनासो गर्नुभयो । 


नेपाल बिद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले चितवन जिल्लाको माडी नगरपालिकाको बाँदर झुलाको सशस्त्र प्रहरी बेस क्याम्प सम्म बिद्युत् सेवा जडान गरेका तर शिकारीवासका जनताका लागि बिद्युत् सेवा उपलब्ध नगराउनु दुर्भाग्य भएको स्थानीयले गुनासो गरेका छन् । 


यस सम्बन्धमा ठोरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्य बहादुर लामाले शिकारीबासका जनताका लागि बिद्युत् जडानका लागि आफू प्रयासरत रहेको बताउनुभयो । शिकारीवास क्षेत्रमा जङ्गली जनावरहरूको आक्रमण बढी हुने गरेको र स्थानीयलाई बचाउन बिजुली बत्ती जडानलाई आफूले प्राथमिकतामा राखेको लामाले बताउनुभयो । 


त्यसैगरी शिकारीवास सम्म पुग्ने बाटोघाटोको अवस्था पनि बिजोग पूर्ण रहेको र नेताहरू चुनाव ताका मात्रै गाउँमा पुग्ने, अरुबेला वास्तै नगर्ने गुनासो स्थानीयले गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button