२०७८ साल असोज ४ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदी

सूर्यप्रसाद अधिकारी २०७८ साउन १९ गते १५:५९

चितवन । जिल्ला कारागार भरतपुरमा क्षमता भन्दा झण्डै तेब्बर कैदी रहेको पाइएको छ । कार्यालयका अनुसार पुरुष २५५ र महिला २५ जना गरी कुल २८० जना क्षमता रहेको यो कारागारमा ०७७।०७८ को असार मसान्तसम्म  सबै कैदीबन्दी गरी ६७१ जना रहेका छन् । 

अघिल्लो आर्थिक बर्ष ०७६।०७७ मा ६६७ जना कैदीबन्दी रहेका थिए । यहाँ बिशेष गरी चितवन , नवलपरासी लगायत अन्य जिल्लाका कैदीबन्दी आउने गरेकोले पनि क्षमता भन्दा बढी कैदी बन्दी रहेको जेलर कमल प्रसाद काफ्लेले जानकारी दिनुभयो । 

क्षमता भन्दा बढी कैदीबन्दी भए पनि दिउसोको समयमा खुल्ला कारागारको खुल्ला ठाउँमा कैदीबन्दी बस्ने र काम गर्ने भए तापनि रातिको समयमा सुत्न समस्या हुने गरेको काफ्लेले बताउनुभयो ।
 सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका 

कारागारमा विभिन्न अपराध गरी जेल सजायंँ भोग्ने मध्ये सबैभन्दा बढी जबरजस्ती करणीका मुद्दाका कैदी बन्दी रहेका छन् । 

कार्यालयका अनुसार आव ०७७।०७८ असार मसान्त सम्म जबरजस्ती करणीका १८२ जना, लागुऔषध मुद्दाका १३६ जना, कर्तव्य ज्यान मुद्दाका ८२ जना, गैँडा मुद्दाका ६६ जना, डाँका मुद्दाका २१, ज्यान उद्योगका १५, मानव बेचबिखनका १९, अपहरण मुद्दाका १० जना कैदी रहेका छन् । यस्तै चोरी घटनाका ४८ जना, सार्वजनिक अपराधका २, हातहतियार मुद्दाका ४ जना, काठ चोरी ३, ठगी २७ जना, आगजनी १, खोटाचलन ७, बहुविवाह ८ र सवारी ज्यान मुद्दाका कैदी  ४४ जना रहेका छन् । 

हाल कारागारमा ६२४ जना पुरुष, ४८ जना महिला र ३ जना आश्रित बालबालिका रहेको कारागारका जेलर  काफ्लेले जानकारी दिनुभयो  । उहाँका अनुसार अदालतले कैद सजायंँ तोकेका, पुर्पक्षको लागि थुनामा राख्नुपर्ने र धरौटी बुझाउन नसक्ने अभियुक्तहरू कारागार चलान हुने गरेका छन् । 

सम्बन्धित