तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले ३ वटा नमूना औद्योगिक ग्रामको निर्माण गर्ने

काठमाडौँ । सरकारले देशभर औद्योगिक ग्राम निर्माणमा सहजीकरणका लागि ३ वटा नमूना औद्योगिक ग्रामहरूको निर्माण गर्ने भएको छ ।


त्यसका लागि उद्योग मन्त्रालयले ६ करोड बजेट विनियोजन गरेको र छिट्टै यससम्बन्धी काम अघि बढाउने तयारी गरेको जनाएको छ ।
सङ्घीय सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेका औद्योगिक ग्रामहरूको प्रभाकारी सञ्चालन तथा निर्माणका लागि आवश्यक मार्ग निर्देशन समेत तयार पार्ने भएको छ ।


सरकारले घोषणा गरेका औद्योगिक ग्रामहरूको प्रभावकारी सञ्चालनका लागि एक मार्ग निर्देशन तयार पारी त्यसकै आधारमा सबै औद्योगिक ग्रामहरूको व्यवस्थापन र सञ्चालन गर्न स्थानीय तहहरूलाई सहयोग गर्ने उद्देश्यले औद्योगिक ग्रामहरूको सञ्चालन ढाँचा र निर्माण सम्बन्धी मार्ग निर्देशन तयार पार्न लागेको उद्योग मन्त्रालयले जनाएको छ ।


उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक ग्रामहरूको सञ्चालन ढाँचा र निर्माण सम्बन्धी मार्ग निर्देशन तयार पारी पठाउने र स्थानीय तहहरूले आआफ्नो आवश्यकता अनुकूल हुने गरी ती औद्योगिक ग्रामहरूको सञ्चालन र निर्माणको काम अघि बढाउने बताउनुभयो ।
मन्त्रालयले यस बर्ष देशभरमा विभिन्न ५० औद्योगिक ग्रामहरूको घोषणा गर्ने कार्यका लागि ५० करोड तथा २० वटा औद्योगिक ग्रामहरूको विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणका लागि ३ करोड रकम विनियोजन गरेको मन्त्रालयको औद्योगिक पूर्वाधार महाशाखाका सहसचिव बलराम रिजालले जानकारी दिनुभयो ।


त्यसै गरी मन्त्रालयले हालसम्म घोषणा भैसकेका औद्योगिक ग्रामहरूको पूर्वाधार लगायतका कामको आधारमा रकम उपलब्ध गराउने गरी मन्त्रालयले चालु आर्थिक वर्षका लागि ३० करोड बजेट विनियोजन गरेको पनि उद्योग मन्त्रालयले जनाएको छ । 


औद्योगिक ग्रामहरूको स्थलगत अनुगमन गरी कहाँ नमूना औद्योगिक ग्राम निर्माण गर्ने भन्ने विषय तय गरिने सहसचिव रिजालले बताउनुभयो । 
सरकारले गत आर्थिक वर्षमा देशभर ७० औद्योगिक ग्रामहरू घोषण गर्ने नीति लिएकोमा यस बर्ष ४० वटा मात्र घोषणा भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button