तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिका क्षेत्रभित्रका योग शिविरलाई सामग्री प्रदान

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित १३ वटा योग शिविरलाई आवश्यक सामग्री प्रदान गरेको छ ।


जोरपाटीस्थित भैरव अर्याल स्मृति भवनमा शनिवार आयोजित कार्यक्रममा मेयर सन्तोष चालिसेले १३ वटै योग शिविरका संयोजकहरूलाई म्याट, साउन्ड सिस्टम, पङ्खा लगायत आवश्यक सामग्री प्रदान गर्नुभएको हो ।


त्यस अवसरमा मेयर चालिसेले नगरपालिका क्षेत्र भित्र योगको विकासका र योगको अपनत्वका लागि नगरपालिकाले योग समिति गठन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।


मेयर चालिसेले ९ वटै वडामा ज्येष्ठ नागरिक क्लब निर्माणका लागि प्रत्येक वडाका लागि २० लाख रुपियाँ विनियोजन गरिएको र नगरपालिका क्षेत्रभित्र उपयुक्त स्थानमा ५० लाख रुपियाँको लागतमा तत्काल योग हल निर्माण गरिने बताउनुभयो ।


उहाँले गोकर्णेश्वर मन्दिरदेखि उत्तर वाहिनीसम्मको क्षेत्रलाई उत्तर गया धामका रुपमा विकास गर्ने गरी कार्य प्रारम्भ भएको उल्लेख गर्नुभयो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद सुवेदी र वडा नम्बर ६ का अध्यक्ष रमेश अर्यालले वडा भित्र सञ्चालित योग शिविरलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा योग शिक्षक अच्युत अर्याल, पतञ्जलि योग समिति काठमाडौँका अध्यक्ष सुरेन्द्र रिमाल र पतञ्जलि योग समिति गोकर्णेश्वर नगर संयोजक रामप्रसाद सन्जेलले योगको आवश्यकता र महत्त्वको बारेमा प्रकाश पार्नुभएको थियो ।


त्यस अवसरमा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले तुलसी, गोर्जो, निम, पत्थर चट्टा लगायतका जडीबुटीको बिरुवा वितरण गर्नुभएको थियो ।


गुर्जो अभियानकर्मी राजलवटले जडीबुटीको प्रयोगले रोग प्रतिरोधक क्षमता विकास गर्ने र मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले स्थानीय जडीबुटीको प्रवर्धनका लागि अभियान सञ्चालन गरेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button