तपाईँ सुन्दै हुनुहुन्छः

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा ध्यान दिएर काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीले जानेर वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्‍यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्ने कर्मचारी आफूले चाहेको बताउनुभएको छ ।


अर्थ मन्त्रालयमा नव नियुक्त अर्थ सचिव मधुकुमार मरासिनीको स्वागत तथा अर्थ मन्त्रालयबाट सरुवा हुनु भएका सचिव शिशिर कुमार ढुङ्गानाको बिदाइ कार्यक्रममा अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त अर्थ सचिवलाई निर्देशन दिनुभयो । 


मन्त्री शर्माले अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न समेत आग्रह गर्नुभयो । 
अर्थमन्त्री शर्माले आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न सबै कर्मचारीहरूले निकै मेहनत गर्नु आवश्यक भएको बताउनुभयो ।


मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर मात्र हुँदैन भन्दै मन्त्री शर्माले अत्यावश्यकीय महत्त्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।


कार्यक्रममा नवनियुक्त अर्थ सचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवर्द्धनमार्फत रोजगारी वृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहनतपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यवसायले  ७० प्रतिशत योगदान गरेको प्रसङ्ग उल्लेख गर्नुहुँदै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबिको अन्त्य गर्न सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो । 


कार्यक्रममा निवर्तमान अर्थ सचिव ढुङ्गानाले कोभिड महामारीकै बिच राजश्व सङ्कलनको लक्ष ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी वैदेशिक मुद्राको संचिति रहेको, निर्यात वृद्धि भएको लगायतका सकारात्मक परिसूचकहरू सहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताउनुभयो ।


स्वागत तथा बिदाइ कार्यक्रमको सहजीकरण गर्दै राजश्व सचिव रामशरण पुडासैनीले अनुभवी र योग्य सचिव शिशिरकुमार ढुङ्गानाको बिदाइले अर्थ मन्त्रालयमा सृजना हुनसक्ने अन्तरलाई २५ वर्ष अर्थ मन्त्रालय र सम्वद्ध निकायमा काम गरेको अनुभव सँगालेका योग्य सचिव मधुकुमार मरासिनीको आगमनले पूर्ति गर्ने विश्वास व्यक्त गर्नुभयो । 


यसै बिच नवनियुक्त अर्थ सचिव मधुकुमार मरासिनीले सोमवार अर्थ मन्त्रालयमा पद बहाली गर्नुभएको छ । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको पद बहालीसँगै निवर्तमान अर्थ सचिव शिशिर कुमार ढुङ्गाना बिदाइ हुनुभएको छ । 


मन्त्रालयमा आयोजित समारोहका बिच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको बिदाइ र नवनियुक्त सचिवको स्वागत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button