तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरका व्यवसायीहरूले सटर भाडा तिर्न नमान्दा एक करोड रुपैयाँ राजश्व उठ्न सकेन

बारा । बारास्थित जीतपुरसिमरा उपमहानगरपालिका जीतपुरका व्यवसायीहरूले व्यावसायिक सटरको भाडा तिर्न नमान्दा उपमहानगरपालिकाको करिब एक करोड रुपैयाँ राजश्व उठ्न सकेको छैन । 

उपमहानगरपालिकाको आफ्नो प्रत्यक्ष मातहतको जीतपुरमा रहेको १ सय ३३ वटा सटरको भाडा व्यवसायीहरूले करिब दुई बर्ष देखि बुझाएका छैनन् । बारम्बार उपमहानगरपालिका र सटर व्यवसायीको प्रतिनिधिहरूसँग भइरहेको वार्ताले पनि सटर भाडा विवाद टुङ्गिन सकेको छैन ।

हालै  उपमहानगरपालिका र सटर व्यवसायीहरूको प्रतिनिधिबिच  मासिक भाडामा  ५३ प्रतिशत भाडा घटाउने सहमति भएको थियो । तर  भाडा सङ्घर्ष समितिको सहमतिमै घटाइएको भाडा दर अरू व्यवसायीहरूले नमानेर पहिलाको सङ्घर्ष समिति विघटन गरी प्रमानन्द कुुश्वाहाको अध्यक्षतामा नयाँ सङ्घर्ष समिति गठन गरेका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाले  निर्धारण गरेको मासिक भाडामा ५३ प्रतिशत छुट दिँदा पनि व्यापारीहरू सटर भाडा तिर्न तयार छैनन् । नयाँ गठित गुँदरी बजार सटर व्यवसायी सङ्घर्ष समितिका अध्यक्ष प्रमानन्द कुुश्वाहाले  कुनै हालतमा पनि आफूहरू बढेको सटर भाडा तिर्न तयार नरहेको बताउनुभएको छ । उहाँले दुई वर्षमा १० देखि २० प्रतिशत वृद्धि गर्नुपरेमा एकै चोटि ४ सय प्रतिशत वृद्धि गर्ने र घटाउने बेलामा ५३ प्रतिशत मात्र घटाउने कुनै हालतमा स्वीकार्य नहुने जिकिर गर्नुभयो । 

बजारभित्रका  व्यावसायिक सटर भाडाको मूल्य उपमहानगरपालिकाले घटाएर डबल सटरको बाहिरको मूल्य ३ हजार ९ सय ९५ ,भित्रको ३ हजार ५५ रुपैयाँ कायम गरेको छ । त्यस्तै सिङ्गल सटरको बाहिरको मूल्य ३ हजार ५ सय २५ रुपैयाँ र भित्रको ३ हजार ५५ रुपैयाँ  निर्धारण गरेको उपमहानगरपालिकाको राजश्व शाखाका प्रमुख पूर्ण तिवारीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button