तपाईँ सुन्दै हुनुहुन्छः

थलाराको खानी गाँउमा सिँचाइका लागि पम्पबाट पानी

बझाङ । थलारा गाउँपालिकाको वडा नं ९ खानी गाँउमा तरकारी र बाली सिँचाइका लागी सेती नदीमा वर्षा पम्प जडान गरिएको छ । युनाइटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा वर्षा पम्प जडान गरिएको हो । 

तरकारी खेतीलाई लक्षित गर्दै सेती नदी बाट वर्षा पम्पको सहयोगले गाउँमा पानी लिफ्टििङ गरेर सिँचाई सुविधा पुर्‍याएको छ । सिर्जना परियोजनाको ३ लाख बढीको लागतमा पानी तान्ने वर्षा पम्प, पाइप ल्याई गाउँ भन्दा तल रहेको सेती नदीको पानी माथि गाउँमा ल्याइएको हो । गाँउमा सिँचाइका लागी पानी पुगे पछि यहाँका ३५ परिवार लाभान्वित भएका छन् । 

सिँचाइको लागी पानी पाए पछि स्थानीय हर्षित भएका छन् । तरकारी राम्रो उत्पादन हुने भएको भए पनि सिँचाई सुविधा नहुँदा व्यावसायिक रुपमा तरकारी खेती गर्न नसकिएको स्थानीय दिनेश सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “अरू उत्पादन भन्दा बाह्रै महिना तरकारी उत्पादन राम्रो हुन्थ्यो । तर हिउँदको समयमा सिँचाइका लागी पानी नहुँदा सास्ती भोग्नु परेको थियो । बर्षातको समयमा त गाउँ नजिकै पानीका मूलहरू फुट्ने भएकाले बर्षे तरकारी राम्रै हुन्थ्यो । अव वर्षा पम्प बाट गाउँमा पानी पुगेपछि तरकारी बालीमा सिँचाई गर्न सहज हुने भएको छ ।  गाँउमा पानी पुगेपछि खुसी लागेको छ ।”

अर्का स्थानीय अमर सुनारले गाँउमा सिँचाइका लागी पानी पुगे सँगै बर्षौ देखिको गाउँलेको तरकारी खेती गर्ने धोको पुरा भएको बताउनुभयो । सुनारले भन्नुभयो, “घर छेउमै सेती नदी बगे पनि सिँचाइका लागी पानी उपभोग गर्न पाएका थिएनौ । घर छेउमै ठुलै नदी बगेपनि पानी उपभोग गर्न नपाउनु हाम्रो दुर्भाग्य हो । बर्छौ देखि पानीको अभाव भोगेका हामीहरूलाई वर्षा पम्प बाट लिफ्टिङ गरेर ल्याएको पानीले राहत भएको छ । अब हिउँदे तरकारी उत्पादन गर्न पनि सहज भएको छ । वर्षा पम्प जडान सँगै कृषकहरूमा परम्परागत कृषि शैली लाई परिवर्तन गरी नयाँ प्रविधि र यान्त्रिकीकरण गरेर व्यवसायिक रुपमा तरकारी खेती गर्न सिकाएको उनको छ ।”

यो प्रविधि सुरुमा २०१४ मा नेपाल भित्रिएको हो । नेदरल्याण्डमा बस्ने एक जना नेपालीले ल्याइ शुरु गर्नु भएको हो । यसलाई पानीको सतहमा राखिन्छ । यो मेसिन हावा र पानीको माध्यम बाट घुम्ने गर्दछ । यो मेसिन बाट २० मिटर भर्टिकल उचाइ सम्म र २ किलोमिटर होरिजेन्टल सम्म पानी पठाउन सकिन्छ ।

हावा र पानी बाट चल्ने भएकाले यस्को एकतर्फी मात्र खर्च हुन्छ । एकै चोटी किन्दा मात्र खर्च हुने भएकाले खोला किनाराका सिँचाई सुविधा नभएका ठाउँका लागी प्रभावकारी हुने युनाईटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाज बझाङको संयुक्त साझेदारीमा सञ्चालित सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button