२०७८ साल असोज ९ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली पक्की पुलसँग जोड्न बनीरहेको पहुँच मार्ग फोटो सुटको हटस्पट बन्दै

कृष्ण सिंह साउद २०७८ साउन १८ गते १७:४०

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यति बेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।

युवापुस्ता दिनभर जसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो र टिकटक बनाउनेको भिडभाड रहने गरेको स्थानीय रामबहादुर देउवाले बताएका छन् । 

यहाँ फोटो सेसनका लागि दैनिक २०० देखि एक हजार जनासम्म पुग्ने गरेको उनको भनाइ छ ।  सडक बनेको विभिन्न ठाउँमा युवायुवती समूहमा आएर टिकटक बनाउन निकै व्यस्त देखिन्छन् । पछिल्लो केही समययता सडकमा भिडभाड बढेपछि यहाँ आइसक्रिम, चटपटेलगायत किराना ससाना पसल सञ्चालनमा आएका छन् ।

भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर देउपाले बाटो निर्माण पूरा हुन नपाउँदै युवाहरूको भिडभाड सो क्षेत्रमा बढेको बताउनुभएको छ । उहाँले सडकमा जथाभाबी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने र सामाजिक विकृति फैलिने खालका गतिविधिमाथि स्थानीय प्रशासनलाई निगरानी बढाउन अनुरोध गरिएको बताउनु भयो ।

उहाँले पुलसँगै निर्माण हुने चार वटा ठूलो पोखरीसमेत बने सो क्षेत्र पर्यटकीय गन्तव्य हुनेमा विश्वस्त रहेको बताउन भएको छ ।

पुलसँगै वारितर्फ गड्डाचौकी र पारि दोधारा–चाँदनीमा डेढ किलोमिटर छ । लेनको सडक निर्माणाधीन अवस्थामा रहेको छ । पुल निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले सडकमा बढिरहेको भिडभाडले दुर्घटनाको जोखिम बढेको बताउनुभएको छ । 

उहाँले चिल्लो सडक, महाकाली र पुलको मनोरम दृश्यले स्थानीयलाई लोभ्याएको बताउनुभयो ।

सम्बन्धित