तपाईँ सुन्दै हुनुहुन्छः

मध्य सोमवार भएकाले धनुषा तथा महोत्तरीको शिव मन्दिरमा शिवभक्तहरूको भिड

जनकपुरधाम । साउन महिनाको मध्य सोमवार आज परेकाले जनकपुरधाम सहित धनुषा तथा महोत्तरी जिल्लाका शिव मन्दिरहरुमा आज बिहान देखि दर्शनार्थीहरुको ठूलो घुइँचो रहेको छ । 

कोरोनाका महामारीको कम भएका कारणले विगतको सोमबार भन्दा आज निक्कै भिड शिव मन्दिरहरुमा रहेको थियो । जनकपुरधामको शिव चोकमा रहेको शिव मन्दिर, स्वर्गद्वारको भूतनाथ मन्दिरमा दर्शनार्थीहरुको बिहान देखि नै घुइँचो नै रहेको छ । 

जनकपुरधामको चारै कुनामा रहेको प्राचीन शिव मन्दिरहरुमा पनि पूजा अर्चनाका लागि शिव भक्तहरूको अत्यधिक भिड देखिइएको छ । जनकपुरधामको वडा नंं १२ मा कुवामा रहेको कुपेश्वरनाथ महादेव मन्दिर, वडा नंं १६ मा रहेको कपिलेश्वरनाथ मन्दिर, धनुषाधाममा रहेको धनुष मन्दिर, क्षिरेश्वरनाथ नगरपालिकामा रहेको क्षिरेश्वरनाथ मन्दिरमा भक्तजनहरूको भिड रहेका थिए । 

यसका साथै महोत्तरी जिल्लाको जलेश्वरमा रहेको जलेश्वरनाथ मन्दिर तथा टुटेश्वरनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड अत्यधिक मात्रामा देखिइएको छ । खास गरेर महिलाहरूको भिड अत्यधिक मात्रामा देखिइएको छ । पुरुषहरू पनि पूजापाठ गरेको भए पनि महिलाहरू अधिक सङ्ख्यामा रहने गरेका छन् । 

भगवान् शिवको अति प्रिय मानिएका विलपत्र, भाङ्ग, धतुरो, अक्षत, चन्दन, दूध तथा जल सहित भक्तजनहरू शिवको विशेष पूजापाठ गरेका छन् । मिथिलाञ्चल क्षेत्रमा आजको दिन महिलाहरूले व्रत बसेर शिवको पूजा तथा आराधना गर्ने गरेका छन् । 

भगवान् शिवको पूजा विवाहित, कुमारी तथा विधवा महिलाहरूले पनि गर्ने चलन रहेको छ । साउन महिनाको सोमवार भगवान् शिवको उपासना गर्नाले विशेष फल प्राप्त हुने भएकाले यस दिन शिवको पूजापाठ अत्यधिक मात्रामा गरिन्छ । 

सुख शान्ति, पारिवारिक कल्याण, पति तथा सन्तान दीर्घायुको कामना सहित शिवको पूजा तथा उपासना गर्ने चलन रहेको छ । खास गरेर मिथिला क्षेत्रमा शिव लिङ्गको पूजा अत्यधिक मात्रामा गर्ने चलन रहेकाले गाउँ तथा वडा वडाहरूमा शिव मन्दिरहरु प्रायः रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button