तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा सवारी कारबाहीबाट ७७ लाख २८ हजार राजश्व असुली

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले अघिल्लो वर्ष भन्दा झण्डै दुई गुणा बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा ३० लाख बढी राजश्व सङ्कलन गरिएको छ । 

गत आर्थिक वर्षमा ७७ लाख २८ हजार ५ सय राजश्व रकम सङ्कलन गरिएको छ । अघिल्लो वर्ष २०७६/०७७ मा ४७ लाख ७१ हजार राजश्व सङ्कलन गरिएको थियो । त्यस अघि २०७५/०७६ मा ६८ लाख ८ हजार ५ सय राजश्व सङ्कलन गरिएको थियो । 

ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज हेमराज भट्टले सवारी नियम मिच्ने सवारी साधनलाई कारबाही गरी राजश्व सङ्कलन गरिएको बताउनुभएको छ । कार्यालयका अनुसार गत वर्ष १३ हजार ७ सय ५९ सवारी साधन कारबाहीमा परेका छन् । पछिल्ला तीन वर्षमा सबैभन्दा बढी सवारी गत वर्ष कारबाहीमा परेका हुन् । अघिल्लो वर्ष २०७६/०७७ मा ८ हजार ३ सय ९९ सवारीलाई कारबाही गरिएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १२ हजार १० सवारीमाथि कारबाही गरिएको थियो । 

अघिल्लो वर्ष राजश्व घटेर ४७ लाखमा झरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक हेमराज भट्टले अघिल्लो वर्ष राजश्व असुलीमा कोरोना महामारी सङ्क्रमणले कमी आएको बताउनुभएको छ । पहिलो पटक फागुन महामारी फैलिएपछि चैत ११ गतेदेखि जेठसम्म लकडाउन गरिएको थियो । 

गत वर्ष पनि चैतदेखि जेठसम्म लकडाउन गरिएको हो । ट्राफिक प्रहरी कार्यालयले गत वर्ष भने कोरोना महामारी संक्रमणमा ३० लाख बढी राजश्व सङ्कलन गरी तीन वर्ष अघिको भन्दा बढी सङ्कलन गरेको छ । 

ट्राफिक प्रहरीलाई ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीलाई पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने अधिकार छ । त्यस भन्दा बढीको जरिवाना गर्ने अधिकार यातायात व्यवस्था कार्यालयलाई छ । 

कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छन् । हेल्मेट नलगाउने, सवारी चालक अनुमति पत्र सहित कागजात नबोक्ने, दुई भन्दा बढी यात्रु बोक्ने, गैर प्रयोजनमा  प्रयोग गर्ने लगायतका नियम मोटरसाइकलले उल्लङ्घन गर्दै आएका छन् । 

लाझाडी गाउँपालिका बाहेक सबै स्थानीय तहमा ट्राफिक प्रहरी पुगेका छन् । कञ्चनपुरमा ५२ जना ट्राफिक प्रहरी परिचालन गरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button