तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावती तेश्रो जलविद्युत आयोजनाको उत्पादन फेरि बन्द

सिन्धुपाल्चोक । शनिवारदेखि आएको निरन्तरको बाढीले सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको उत्पादन फेरि बन्द भएको छ ।

७.५मेगावाट क्षमताको आयोजनाको ६६ केभीको ३२ र ३३ नम्रका  २ वटा टावरमा आइतबार राति क्षति पुगेपछि आयोजनाको उत्पादन फेरि बन्द भएको हो ।  

असार १ गतेको याँग्री खोलाको बाढीले क्षति पुगेपछि गत बुधवार मात्र डेढ महिनामा सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतबार राती १०ः००बजेदेखि बन्द भएको आयोजनाका केन्द्र प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो । 

सिन्धु खोलामा एउटा टावर बगाएको र  एउटा भाँचिएको छ ।   यसको मर्मत गर्न सहज अवस्था भए कम्तीमा १५ दिन लाग्ने केन्द्र  प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

यता निरन्तरको वर्षाले बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभिको  लाइनमा समेत क्षति पुग्दा मेलम्ची क्षेत्रमा अहिले बिद्युत् अवरुद्ध भएको छ । 

नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्र अन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै स्थानमामा बिद्युत् सेवा अवरुद्ध भएको छ । 

इन्द्रावती  तेस्रो जलविद्युत आयोजनाको उत्पादन बन्द भएको र बाहुने पाटी, फट्टे, सिमखेतदेखि तालामाराङ तथा हेलम्बुको ग्याल्थुम, चनौटे, किउल  लगायतका क्षेत्रमा  बिजुलीको खम्बा, ट्रान्सफर्मर र ११ केभिको  लाइनमा समस्या रहेकाले बिद्युत् सुचारु हुन केही समय लाग्ने  हेलम्बु मेलम्ची वितरण केन्द्र प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो ।

बाँकी रहेको बाटोघाटो, पक्की तथा झोलुङ्गे पुलहरू समेत बाढीले बगाउँदा मर्मत सम्भार र पुनः  निर्माण झन् कठिनाईपुर्ण रहेकोले समय लाग्ने उहाँले बताउनुभयो ।

छिमेकी वितरण केन्द्रहरूसँगको समन्वयमा वैकल्पिक  रुटबाट सम्भव भएसम्म बिद्युत् सुचारु गर्न प्रयास भइरहेकोले परिस्थितिको गाम्भिर्यतालाई बुझी  केही समय धैर्य गरिदिनु  ग्राहक वर्गमा उहाँले अनुरोध गर्नुभयो । 

वैकल्पिक  रुटबाट ल्याइएको बिद्युत् पूर्ण क्षमताको नहुने अर्थात् कम भोल्टेज आउने स्थानीयको गुनासो छ । अहिले मेलम्ची बजारमा वैकल्पिक  रुटबाट ल्याइएको बिद्युत् परीक्षण भइरहेको केन्द्र प्रमुख न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button