तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ सय १३ पुग्यो

भक्तपुर । भक्तपुरमा कोभिड–१९ को सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ सय १३ पुगेको छ । 

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मृत्यु हुनेमा २ सय पुरुष र १ सय १३ महिला रहेका छन् । 

भक्तपुरमा कोरोनाबाट सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा एक सय जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुने मध्ये ६७ जना पुरुष र ३३ जना महिला छन् ।

त्यसैगरी सूर्यविनायक नगरपालिकामा ५४ पुरुष र ३१ महिला गरी ८५ जनाको मृत्यु भएको छ भने भक्तपुर नगरपालिकामा ७९ जना मृत्यु भएकोमा ४८ पुरुष र ३१ महिला छन् । 

चाँगुनारायण नगरपालिकामा ३१ महिला र १८ पुरुष गरी ४९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय प्रमुख कृष्ण बहादुर मिजारले बताउनुभयो ।

भक्तपुरमा आइतबार एकै दिन तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

भक्तपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये आइतबार दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।

भक्तपुर नगरपालिकाका ७८ वर्षीय एक पुरुष र सूर्यविनायक नगरपालिकाका १० का ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । 

त्यसैगरी चाँगुनारायण नगरपालिका ५ की ५५ वर्षिया महिलाको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

हालसम्म भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार नाघेको छ । यहाँ आइतबार साँझसम्म १३ हजार १२६ पुरुष र ११ हजार ८७ महिला गरी २४ हजार २१० जनामा कोरोना संक्रमण भएको मिजारले जानकारी दिनुभयो । ती मध्ये २२ हजार ९३० जना संक्रमण मुक्त भएका छन् । 

यसैगरी सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ९६७ रहेको छ । सक्रिय संक्रमित मध्ये २५ पुरुष ३३ महिला गरी ५८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् भने ४५७ पुरुष र ४५२ महिला गरी ९०९ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button