तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा पुनः एकहप्ता निषेधाज्ञा थप

File Photo

डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ ।

यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहर जाने र फर्किने क्रममा सङ्क्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाउअनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले गत वैशाखदेखि लागु गरिएको निषेधाज्ञाको समयावधि यही साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो । अत्यावश्यक कामबाहेक निषेधाज्ञा उलङ्घन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । जिल्लामा निषेधाज्ञाको समयावधि थप गरिएको यो नवौँ पटक हो ।

केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राती ८ बजेसम्म पसल खोल्न र बैङ्क तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ । विकास निर्माणका काम र त्यसमा प्रयोग हुने यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेस्टुरेन्ट, सैलुन, ब्युटी पार्लर, जिम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी सूचनामा उल्लेख छ ।

जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button