तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर विमानस्थलबाट ३ लाख बढी यात्रुले लिए सेवा

चितवन । भरतपुर विमानस्थलबाट साँढे दुई वर्षमा ३ लाख बढी हवाई यात्रुले सेवा लिएका छन् । विमानस्थल कार्यालयका अनुसार सन् २०१९, २०२० र २०२१ को जुन महिनासम्म गरेर ३ लाख ११ हजार २६६ यात्रुले सेवा लिएका हुन् । 

जसअनुसार २०१९ मा नियमित र चार्टर्ड  उडान गरी १ लाख ८२ हजार २ सय ७६ यात्रुले सेवा लिएका थिए भने सन् २०२० मा ७४ हजार ८ सय ७ यात्रुले सेवा लिएका थिए । यस्तै २०२१ को जुनसम्म ५४ हजार १ सय ८३ जना यात्रुले सेवा लिएका थिए । 

उडानमा यात्रुहरूको आकर्षण बढे पनि निषेधाज्ञा र लकडाउनका  कारण  उडानसँगै यात्रुहरूको सङ्ख्यामा पनि कमी आएको विमानस्थल प्रमुख योगेन्द्र कुँवरले  बताउनुभयो । ‘उडान चालु भएको बेला उडानको सङ्ख्या सँगै चाप पनि छ । उहाँले भन्नुभयो, उडान नै नभएपछि यात्रु त स्वतः कम हुने भए । 

साँढे दुई वर्षमा १० हजार सात सय पटक उडान 

विमानस्थलमा साँढे  दुई वर्षको अवधिमा विभिन्न उडान कम्पनीका जहाजले १० हजार सात सय १८  पटक भन्दा बढी उडान गरेका छन् । कार्यालयका अनुसार सन् २०१९ मा ६ हजार ४ सय ८८ पटक, २०२० मा २ हजार ४ सय ५६ पटक र २०२१ को जुन महिना सम्म १ हजार ७ सय ७४  पटक उडान भएको छ । 

निषेधाज्ञाका कारण विमानस्थलमा नियमित उडान बन्द भए पनि चार्टड उडान भने हुने गरेको छ । 

निषेधाज्ञा खुकुलो भएपछि केही दिन यतिले नियमित उडान गरे पनि हाल यतिले उडान स्थगित गरेको छ भने बुद्ध एयरले दैनिक रुपमा १८ र ४७ सिटे जहाज गरी १० वटा जहाजले २० वटा  काठमाडौँ र भरतपुर उडान भर्ने गरेको विमानस्थलले जानकारी दिएको छ । यति एयरले उडान स्थगित गरेपछि केही दिनमै गुण एयरले उडान सञ्चालन गर्न लागेको विमानस्थल प्रमुख कुँवरले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button