तपाईँ सुन्दै हुनुहुन्छः

ठुटे खोलाको पुल सञ्चालनमा

वीरगंज । निर्माण सम्पन्न भएको करिब ४ बर्ष पछि कुलोमा डाइभर्सन निर्माण गरी वीरगन्ज–ठोरी हुलाकी सडक खण्डको ठुटे खोलाको पुल सञ्चालनमा आएको छ । 

ठोरी गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने उक्त पुलको पूर्वतर्फ भारतीय पक्षले एप्रोच सडक निर्माण गर्न अवरोध सृजना गरेपछि विगतमा निर्माण सम्पन्न भएर पनि पुल प्रयोगमा आउन सकेको थिएन ।  

सिँचाइका लागि ठुटे खोलामा बाध बाँधेर भारतीय पक्षले कुलो लगेको र कुलोका कारण सडकको एप्रोच निर्माण गर्न भारतीयले अवरोध गरेपछि पुल सञ्चालनमा नआउँदा वर्षा याममा ठोरी क्षेत्रका बासिन्दाले पुल भएर पनि सास्ती खेप्दै आएका थिए । 

सीमावर्ती भारतीय भिखनाठोरीका बासिन्दाले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहान प्रयोग गरी वर्षौँदेखि २ वटा कुलोबाट सिँचाइ गर्दै आएका थिए । 

३ वटा कुलोमध्ये एउटा मात्र नेपाली पक्षले प्रयोग गर्ने र भारततर्फको कुलोमा बढी र नेपालको कुलोमा कम पानी प्रवाह हुँदा बर्षेनी विवाद र झडप समेत हुँदै आएको थियो ।  

स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको निगरानीको कारण अहिले ठुटे खोलाबाट अन्यायपूर्ण तरिकाले भारत तर्फ लगिएको कुलोमा पानी रोकिएको र कुलो माथि नै डाइभर्सन निर्माण गरी पुल सञ्चालन गरिएको ठोरी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष राम प्रकाश कुवरले बताउनुभयो । 

गत वर्ष पहिलो लकडाउनको समयमा ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न गरी एप्रोच सडक बनाउन खोज्दा भारतीय सुरक्षा फौज एसएसबीका जवान आएर काम रोकेका थिए । विवादकै कारण ठेकेदार कम्पनी बानियाँ÷कालिका कन्स्ट्रक्सनले वैशाखमा एप्रोच सडकको काम नै पूरा नगरी हुलाकी सडक हस्तान्तरण गरेको थियो । 

पुल निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी अमर एन्ड मृत सञ्जीवनीले एप्रोच सडक निर्माण गर्न सरकारको निर्णय कुरेको थियो । तर, यो विवाद समाधान नभएपछि काम रोकिएको थियो । 

विवादसँगै कुलो भएको स्थानमा डाइभर्सन निर्माण गरी पुल सञ्चालनमा ल्याइएको ठोरी गाउँपालिकाका प्रवक्ता कुँवरले बताउनुभयो । ठुटे खोलाको पुल ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । 

डाइभर्सन निर्माण गरेर भए पनि पुल सञ्चालनमा आएपछि वर्षा याममा ठोरी क्षेत्रका बासिन्दाले भोग्दै आएको सास्ती अन्त्य भएको प्रवक्ता कुँवरले दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button