तपाईँ सुन्दै हुनुहुन्छः

सहिद भीमदत्तको ६९ औँ स्मृति दिवस मनाइयो

डडेलधुरा । ‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशस्त्र आन्दोलनको नेतृत्व गरेका सहिद भीमदत्त पन्तको आज डडेलधुरामा विविध कार्यक्रमका साथ स्मृति दिवस मनाइएको छ । 

पन्तलाई तत्कालीन शासकले फाँसीमा चढाएको ६९ वर्ष पुरा भएको दिनको स्मरण गर्दे भीमदत्त पन्तको सालिकमा आज माल्यार्पण र

अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।  
भीमदत्त पन्त स्मृति प्रतिष्ठान डडेलधुराले बागबजारमा रहेको सहिद पन्तको सालिकमा माल्यार्पण गरी दिवस मनाइएको प्रतिष्ठानका उपाध्यक्ष बिरेन्द कुमार बस्नेतले जानकारी दिनुभयो ।  

विशेष गरी नेपालका कम्युनिस्ट पार्टीहरूले भीमदत्त पन्तलाई आफ्नो आदर्श मान्दै आएका छन् । कम्युनिस्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बने तत्कालीन एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै उनलाई सहिद घोषणा गरेको थियो ।  

तत्कालीन सरकारले घाँटी रेटेर उनको हत्या गरेको थियो । ‘ठालु खाना आलु, गरिब खाना बासमती’ भन्ने नारासहित ‘तमसुक च्यात भकारी फोड’ अभियान चलाएका पन्त नेपाली किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्त्वपूर्ण विद्रोही नाम हो ।  

‘जसको जोत उसको पोत, किसान जिन्दाबाद, जनताको राज जिन्दाबाद’ भन्दै जनताका लागि शासकविरुद्ध सङ्घर्ष गर्दागर्दै रेटिन पुगेका पन्तलाई अहिले उपेक्षा गरिएकोमा किसान निराश छन् । 

नेपाली किसान आन्दोलनका सहिद भीमदत्त पन्त डडेलधुराको अमरगढी–२ कारीगाउँमा १९८३ मङ्सिर १० गते जन्मिएका हुन । उत्तर प्रदेश भारतको सिन्हाइबाट संस्कृत विषयमा हाई स्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक चेतना बढायो। 

सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए, भीमदत्त पन्त । किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । वि.सं. २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button