तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको जोखिम कायमै, काम खोज्न भारत जानेको लर्को

कञ्चनपुर । कोरोना भाइरसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूर पश्चिमेली काम खोज्नका लागि दिनहुँ गड्डाचौकी र गौरीफन्टा नाका भएर भारत पस्न थालेका छन् । 


यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न सहर जाने क्रम निकै बढेको छ ।


कञ्चनपुरको गड्डाचौकीमा रहेको इलाका प्रहरी कार्यालयका अनुसार प्रत्येक दिन कम्तीमा पनि ५०० देखि ७०० युवा काम खोज्न भारत जान थालेका छन् । 


अधिकांश नेपाली भारतको पन्जाब, मुम्बई, आगरा, राजस्थान, बरेली, लखनउ, सिमला तथा काला पहाडका सहरमा कामका लागि जान थालेको बताउने गरेको प्रहरीले जनाएको छ ।


सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी तथा डोटी लगायतका जिल्लाका नागरिक कामकै लागि बर्सेनि भारत जाने गर्दछन् । 


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले नेपालीहरूको सुरक्षाका लागि सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूसँग समन्वय गरिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button